धरान । पछिल्लो समय कोभिड–१९ को संक्रमणदर बढ्दै गएको अवश्थामा धरान उपमहानगरपालिकाले आफै खोप खरिद गर्ने भएको छ ।
संघिय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिकाका नागरिकलाई खोप लगायन आफै खदिर गर्न लागेको हो । मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग गर्दै पत्र पठाएका छन् । उनले प्रधानमन्त्री कार्यालय सहित प्रदेश १ का मुख्यमन्त्री कार्यालय, सामाजिक विकाश मन्त्रालय प्रदेश १ लाई बोधार्थ दिएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै श्रोतबाट खोप लगाउने योजना बनाएको पत्रमा उल्लेख गरेका छन् । एक लाख नागरिकको पहिलो र दोश्रो मात्राको खोप लगाउनको लागि दुईलाख डोज खोप धरानमा आवश्यक पर्ने भएको भन्दै मेयर राईले स्वीकृति प्रदान गर्न माग गरेका छन् । धरानबासी स्वास्थ्य भए मात्रै नगर विकासको कार्य अगाडी बढ्ने मेयर राईले बताए ।
धरानमा कोरोनाको दोश्रो भेरियन्ट आए यता १ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । हाल सक्रिय सक्रमितको संख्या ५ सय ७० रहेको छ भने ३८ जनाले ज्यान गुमाईसकेका छन् ।