बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका बेलबारी नगर समितिका सचिव सन्तोष तामाङले पदबाट राजीनामा दिएका छन्।
उनले पार्टी नेतृत्वको एकल निर्णय शैलीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारी त्याग्न बाध्य भएको बताएका छन्।
कोशीपत्रसँगको कुराकानीमा तामाङले पार्टीभित्र सामूहिक छलफल र निर्णय प्रक्रियाभन्दा नेतृत्वको एकल निर्णय हाबी हुँदै गएको आरोप लगाए।
“पार्टी नेतृत्वको एकल निर्णयका कारण मैले सचिव पदबाट राजीनामा दिन बाध्य भएको हुँ,” उनले भने।
सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै तामाङले आजको मितिदेखि श्रम संस्कृति पार्टी बेलबारी नगर समितिको सचिव पदबाट अलग भएको जानकारी दिएका छन्।
यद्यपि उनले पार्टीको जिम्मेवारी छाडे पनि गाउँ, समाज र देशको विकासका लागि हुने श्रमदान तथा जनहितका अभियानमा निरन्तर सहभागी रहने बताएका छन्।
तामाङको राजीनामासँगै श्रम संस्कृति पार्टीको बेलबारी संगठनभित्र नेतृत्व शैली र निर्णय प्रक्रियाबारे बहस सुरु भएको छ।
पार्टीका नगर तहका जिम्मेवार पदाधिकारीले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पद त्यागेको घटनालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
हालसम्म तामाङले लगाएका आरोपबारे श्रम संस्कृति पार्टीको केन्द्रीय नेतृत्वले सार्वजनिक प्रतिक्रिया दिएको छैन।
तर उनको राजीनामाले हर्क साम्पाङ नेतृत्वको पार्टीभित्र आन्तरिक असन्तुष्टि सतहमै आएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।