धरान । विहिबार साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा पसेर आक्रमण गर्ने ९ जनाको पहिचान खुलेको छ । उनीहरुको खोजि कार्य भइरहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
पाथीभरा लाइनमा रहेको चौकीमा पसेर आक्रमण गर्ने समुहको पहिचान भइसकेकाले खोजि कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज वलीले बताए ।
उनले भने, ९ जनाको पहिचान खुलिसकेको छ, उनीहरुको खोजि कार्य तिब्र बनाइएको छ ।’ उनीहरु वडा नम्बर १५ कै स्थानीय रहेको बुझिएको छ ।
आक्रमणबाट असई सुमन दाहाल, एक हवल्दार र एक सिपाइ घाइते भएका छन् । असई दाहालको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनी माथि खुकुरी प्रहार गरेका थिए ।
उनका अनुसार दुई समुह बिचको झगडा मिलाउन खोज्दा प्रहरी माथिनै आक्रमण भएको थियो । एक समुह चौकीमा उजुरी दिन आएको थियो । पहिलो समुहलाई लखेट्दै दोस्रो समुह चौकीमा प्रवेश गरेको थियो । चौकीमा प्रवेश गर्ने बित्तिकै प्रहरी माथि आक्रमण गरिएको प्रहरी निरिक्षक वलीले बताए ।