धरान । कोरोना संक्रमणका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित बन्दै गएका छन् । गत बर्षदेखि नै मौलिक पर्वहरु नेपालीहरुले खुलेर मनाउन पाएका छैनन् । सर्वसाधारण घरमै खुम्चिएर चाडपर्व मनाउन बाध्य छन् ।
गत बर्ष पनि कारोना कहरकै कारण बुद्ध जयन्ती, लिम्बुहरुको चासोक तङनाम, राईहरुको साकेला पर्व प्रभावित मात्र भएन हिन्दु धर्मालम्बीहरुको ठूलो चाड दशै र तिहार समेत कोरोनाकै कारण प्रभावित भए ।
यस बर्ष पनि त्यही संकेत देखिएको छ । नेपालीहरुका मौलिक पर्व धमाधम प्रभावित हुदै गएका छन् । केही समय अगाडि मुसलमान समुदायको ठूलो चाडको रुपमा रहेको रमजान पनि समुदायस्तरमा नभई घरमै खुम्चिएर मनाए ।
यस्तै यस बर्षको २५६५ औ बुद्ध जयन्ती तथा किरा“त समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्यादर) २०७८ प्रभावित बनेको छ ।
पर्वकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । यस्तै प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लगायतले शुभकामना सन्देश दिएका छन् ।
शुभकामना सन्देशमा उभौली जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।
हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको सन्देशमा बताएका छन् ।
मुख्यमन्त्रीले सन्देशमा यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने भए पनि बढ्दो रुपमा फैलिएको कोरोना भाइरसका कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको बताउदै भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन अपील समेत गरेका छन् ।
धरानका अग्रज पत्रकार हर्ष सुब्बाले आफ्नो फेशबुक स्टाटसमा दुई बर्षदेखि धरानमा उभौलीको यस्तो झलक नदिएको उल्लेख गरेका छन् । अहिलेको विषम परिस्थितिलाई मध्यनजर गरी फेसबुक स्टाटस लेख्दै सबैलाई शुभकामना दिएका छन् ।
वास्तवमै अहिले मुलुक कोरोना महाकारीका कारण जटिल अवस्थामा गुज्रिएको छ । यस्तो विषम परिस्थितिमा संक्रमणको दरसंगै मृत्युदर समेत बढ्दै गएकोले नेपाल सरकारले मुलुकमा लकडाउन गरेको छ ।
सरकारले बढी भीडभाड हँुदा अझ कोरोना संक्रमण बढ्ने जोखिम बढेकाले त्यसलाई प्रतिबन्द गरेको छ । संक्रमणको समयमा सुरक्षित भएर घरमै बसेर चाड मनाउनुपर्ने अवस्था रहेको सर्वसाधारणहरु समेत बताउँछन् ।
धरान १५ का मिलन राईले दुई बर्ष कोरोना कहरका कारण खुलेर साकेला उभौली मनाउन नपाएको बताउँछन् । उनी भन्छन्, ‘समुदायमै सबैसंग रमाएर मनाउँदा अत्यन्तै रमाइलो हुन्छ, तर अब यस्तो समय छैन ।’