धरान । नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहँदा सुनसरी क्षेत्र नम्बर १ का संसद जय कुमार राईले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
एमालेमा माधव नेपाल पक्ष मानिएका संसद राईले सामाजिक सञ्जाल मार्फत नयाँ सरकार गठनको प्रक्रियामा कुनै हस्ताक्षर नगरिएको जानकारी गराएका छन् ।
विहिबार राष्ट्रपती श्रीमती विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजे सम्मका लागि नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिईन् । सरकार गठनका लागि नेपाल पक्ष सहित माओवादी र काँग्रेसको सहमतीय सरकारका लागि १ सय ४९ सदस्यको हस्ताक्षर बुझाइएको छ ।
यसै बिच संसद राईले नयाँ सरकार गठन गर्न भनि हस्ताक्षर नगरेको पार्टीका सबै नेता तथा कार्यकर्तालाई जानकारी गराएका छन् ।
उनले लेखेका छन्, सुनसरी क्षेत्र नम्बर १ बाट सुर्य चिन्ह लिएर निर्वाचित संसद म जय कुमार राई नेकपा एमाले विभाजनको पक्षमा छैन, भन्ने धेरै अगाडि देखि मेरो धारणा सार्वजनिक गर्दै आएको छु, आज फेरि नयाँ सरकार गठन गर्न भनी हस्ताक्षर संकलन भैरहेको जानकारीमा आएका हुँदा म फेरि पनि पार्टी विभाजनको पक्षमा छैन्, र काहीँ कतै यो प्रयोजनको लागि हस्ताक्षर नगरेको कुरा सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई जानकारी गराउन चाहन्छु ।’