प्रदेशसभा बैठक फेरि अनिश्चित : अब के हुन्छ मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?

  • चैत २, २०७७
  • "कुमार लुइँटेल"
alt

विराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक प्रदेशसभा सचिवालयले आइतबार सूचना टाँस गरेर स्थगित गरेको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध सदनमा अविश्वास प्रस्ताव पेस भएको छ तर यस विषयमा छलफल हुने कि नहुने भन्ने प्रक्रियागत अन्योलबीच प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना टाँस गरी बैठक स्थगित गरिदिएका छन् । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो नभएको जानकारी दिइन । भनिन्, ‘फेरि छलफल भई अर्को बैठकको मिति तोकिनेछ ।’

प्रमुख विपक्षी काङ्ग्रेसले सरकार संसद्प्रति गैरजिम्मेवार भएको र सभामुखसमेत सदनप्रति इमान्दार नभएको ठहर गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले व्यवस्थापिकालाई कार्यपालिकाले बेवास्ता गरेको देखिएको बताउँदै भने, ‘सदनमा समेत सरकार नभएको देखिएको छ । सभामुखले नै भूमिका निर्वाह गर्नुपर्नेमा लेख्दै पर सार्ने काममात्र गर्नुभएको देखिन्छ ।’ कार्कीले प्रदेशसभाका सदस्यहरू तलबमात्र खाएर बस्नुपर्ने अवस्था आएको सुनाए ।

उनले जनताका अति नै महत्तवपूर्ण विषय उठाइने संसद्लाई बन्धक बनाउने काम भएको बताउँदै थपे, ‘छलफल नै नगरी बारम्बार स्थगन गर्दा जनतामा समेत सन्देश राम्रो गएको छैन ।’ कोरोनाकालमा सरकारले गरेका भ्रष्टाचार सदनमा उठ्ला भन्ने डर र बजेट भाषणमा गरिएका प्रतिबद्धतासमेत वैधानिकरूपमा रोकिएकाले सरकार संसद्मा जान डराइरहेको आरोप कार्कीले लगाए ।
निर्वाचन क्षेत्र विकास कोष र पूर्वाधार विकास कार्यक्रमको बजेटसमेत रोकिएको अवस्थामा सांसद्ले घेराबन्दी गर्ने देखिएकोले सरकार संसद् नै छल्न अग्रसर भएको उनको दावी छ ।

नेकपा खारेज भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएसँगै सदनमा पेस भएको अविश्वास प्रस्ताव के हुने भन्ने विषयमा प्रक्रियागत अन्योलसमेत देखिएको छ । सदनमा अविश्वास प्रस्ताव पेस गर्ने प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो नेकपा खारेज भएसँगै माओवादी केन्द्रमा पुगेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरे पनि यसको औपचारिक निर्णय गरिसकेको छैन ।

प्रदेश १ मा नेकपाको खारेजीपछि दुई कम्युनिस्ट पार्टी ब्युँतिएसँगै एमाले एक्लैको स्पष्ट बहुमत छ तर पूर्वमाओवादी केन्द्रसँग मिलेर अविश्वास प्रस्तावमा एमाले माधव नेपाल समूहका सांसद्ले समेत हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेका ३७ जनामध्ये ६ जनाले अविश्वास प्रस्तावबाट आप्mनो समर्थन फिर्ता लिइसकेका छन् । माओवादी केन्द्रको दलका नेता टङ्क आङ्बुहाङ केन्द्रीय सदस्य मनोनीत भई एमालेमा प्रवेश गरेका छन् ।

एक समूहबाट अर्काेमा प्रवेश गर्ने खेलसँगै मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव के हुन्छ भन्ने अन्योल देखिएको हो । एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद् नै अर्कै पार्टीको भएपछि अब यो स्वतः फिर्ता हुने दावी गर्छन् । उनले भने, ‘अब सरकारमा हाम्रो पार्टीको एकल बहुमत रहेको कारण अविश्वासको प्रस्ताव छलफलमा जाँदैन ।’ प्रदेश १ मा ४७ सांसद् संख्या हुँदा बहुमत पुग्छ । एमाले एक्लैसँग ५१ सांसद् छन् । त्यसमध्ये २१ जना नेपाल समूहका छन् । प्रदेश १ को जम्मा सांसद् सङ्ख्या ९३ हो ।

मुख्यमन्त्री राईले पनि अविश्वासको प्रस्ताव र एमालेमा माधव समूहले समानान्तर समिति गठन गरेको विषयले केही फरक नपर्ने बताएका छन् । राईले एक टेलीभिजन अन्तर्वार्तामा प्रदेशसभामा संसदीय दलको विधान र ह्वीपविपरीत काम गरे कारवाही हुने चेतावनी दिए ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved