बिराटनगर/ नेपाली काङ्ग्रेसका युवा नेताहरूले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकोले गलत काम गरे त्यसको विरोध हुने बताएका छन् ।
काङ्ग्रेसको विराटनगर महानगर समितिले बिहीबार आयोजना गरेको ‘वर्तमान राजनैतिक अवस्था, संवैधानिक सङ्कट, यसको निकास र आजको आवश्यकता’ विषयक विचार गोष्ठीका वक्ताहरूले सरकारका कदम प्रतिगामी र असंवैधानिक भएको दावी गरे ।
कार्यक्रममा अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्दै काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भने, ‘सर्वोच्च अदालतमाथि नेपाली काङ्ग्रेसको पूर्ण समर्थन र विश्वास छ तर अदालतले प्रधानमन्त्री ओलीको गर्जन अनि शक्ति प्रदर्शनबाट प्रभावित नभई संविधानसम्मत पैmसला गर्नुपर्छ ।’ थापाले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकोले गलत कामबारे बोल्ने अधिकार सबैलाई भएको बताए । उनले आफूहरूले पनि सरकारको कदम र राष्ट्रपतिले गरेको समर्थनविरुद्ध बोलेको जनाउँदै हिम्मत भए आपूmहरूलाई पनि पक्राउ गर्न सरकारलाई चुनौती दिए ।
त्यसै क्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपालमा प्रधानमन्त्री ओेलीले नियन्त्रित लोकतन्त्र स्थापना गर्न खोजेको आरोप लगाउँदै भने, ‘काङ्ग्रेसको सहभागिताविना मुलुकमा राजनैैतिक स्थिरता र संसद् पुनःस्थापना सम्भव छैन ।’ उनले पनि राष्ट्रपतिका गलत कामबारे नागरिकले बोल्न पाउने जिकीर गरे ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले राजनैतिक सङ्कट समाधानका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको औँल्याए । ‘सरकारको स्वेच्छाचारिता बढ्दै गएकोले यसलाई रोक्न जरुरी छ’, उनले भने, ‘लोकतन्त्रमा स्वेच्छाचारिता स्वीकार्य छैन ।’
संविधानविद् डा. विपिन अधिकारीले सरकारका गलत कामविरुद्ध जनतालाई सुसूचित गराउन राजधानी केन्द्रित आन्दोलन गर्नुपर्ने बताए । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको अधिकारीको भनाइ थियो ।