संखुवासभा : यहाँ निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न चार सय २९ मिटरको सुरुङमार्गसमेत निर्माण गरिसकेको छ ।
परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका थिए । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइएको बताइएको छ ।
बाँधस्थल मकालु गाउँपालिका–५ को फ्याक्सिन्दा र विद्युत्गृहस्थल चिचिला गाउँपालिका–२ को पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जानकारी दिएको छरु। बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनीले तथा विद्युत्गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।
परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गसम्मको दुरी ११ दशमलव ७४ किमी छ ।
प्रियोजना विकास सम्झौता
(पीडीए) अनुसार सन् २०२२ सेप्टेम्बरभित्रै काम सम्पन्न हुनेछ ।
परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ । यन्त्र राख्न १६ हजार ७०० घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार ४०० घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।
एक खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाबाट नेपालले २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क पाउनेछ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब रुपैयाँ आर्थिक लाभ लिनेछ ।
परियोजनाबाट प्रभावित स्थानीयले एक अर्ब ६० करोड रुपैयाँको शेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् ।
परियोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी तीन खर्ब ४८ अर्ब रुपैयाँ प्राप्त गर्ने अनुमान छ ।
निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख गरिएको छ । रासस