धनकुटा ÷धनकुटाको संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ ।
महालक्ष्मी नगर कार्यपालिकाको सम्पन्न बैठकले आईसीयूमा उपचार गराउनु पर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमा समेत आईसीयू नहँुदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा धरान, विराटनगर लगायतका ठूला शहरका अस्पतालमा पु¥याउने गरिएको छ । आईसीयूमा राखेर गरिने उपचार धेरै खर्चिलो हुने भएकोले नगरबासीको ज्यान बचाउनका लागि उपचारमा केही मात्रामा भएपनि सहयोग गर्न लागिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । ‘कोरोना संक्रमण बढिरहेको छ ।
संक्रमितको स्वास्थ्य अवस्था जटिल भयो भने आईसीयूमा पनि राख्नु पर्ने हुनसक्छ ।’ त्यसकारण आईसीयूको उपचार खर्चिलो हुने भएकाले बिरामीको परिवारलाई राहत स्वारुप उपचार खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको नगर प्रमुख नेपालले बताए । कोरोना संक्रमितको उपचारमा केन्द्र सरकार पछि हटेका बेला स्थानीय सरकारहरुले आफ्ना नागरिकहरुलाई बचाउनको लागि आफैले अग्रसरता देखाउन थालेका छन् ।
यसै सन्दर्भमा महालक्ष्मी नगरपालिकाले नगरवासीहरुलाई संकटमा साथ दिने निर्णय गरेको हो । सो नगरपालिकाले कोरोनाको लक्षणयुक्त नगरबासीहरुको पीसीआर परीक्षण गर्दा संक्रमण पूष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने भएको छ । लक्षण देखिएकाहरुलाई नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउँछन् ।
संक्रमण पूष्टि भएमा पीसीआर ल्याबमा परीक्षण बापत लाग्ने शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । अहिले सरकारले पीसीआर परीक्षण बापत २ हजार रुपैयाँ शुल्क तोकेको छ । नगरले आधा रकम बेहोर्ने भएकाले संक्रमण पूष्टि हुने महालक्ष्मी नगरबासीले परीक्षणमा १ हजार मात्र खर्चिनु पर्ने भएको छ ।
नगरबासीको पीसीआर परीक्षणका लागि स्वाब संकलन किट (भीटीएम) को व्यवस्था पनि नगरपालिकाले नै मिलाउने भएको छ । धनकुटामा पीसीआर ल्याब नभएकाले तराईका जिल्लाका ल्याबमा स्वाब पु¥याउन लाग्ने ढुवानी खर्च पनि नगरले नै बेहोर्नेछ । त्यस्तै संक्रमण पूष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने र संक्रमितको मृत्यू भएमा शव वाहन खर्च समेत नगरपालिकाले नै बेहोर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य सुवेदीले बताए ।