विराटनगर । प्रदेश सरकारको निर्णयसंगै प्रदेश १ को राजधानी विराटनगरमा होटल आईसोलेसनको रुपमा संचालनमा आएका छन् ।
प्रदेश सरकारको कोभिड क्राईसिस म्यानेजमेन्ट कमिटीको बैठकले होटललाई समेत आईसोलेसनको रुपमा प्रयोग गर्न सकिने निर्णय गरेको थियो । खासगरी बढी संक्रमित भएको प्रदेश राजधानी विराटनगरका होटलले आईसोलेसन सेवा दिनसमेत सहमत भएका हुन । तर, सरकारी भन्दा पनि होटलले निजी तथा संस्थानका कर्मचारीहरुलाई सेवा दिन तत्परता देखाएका छन । होटल संचालहरुका अनुसार सरकारी संस्थान र बैकहरुले आफ्ना कर्मचारीहरुमा संक्रमण देखिए उनीहरुलाई आईसोलेट गर्नको निम्ति होटल नै बुक गर्न शुरु गरिसकेका छन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्,“महानगर आफैंले समेत आईसोलेसन संचालन गरिरहेको छ । तर, संस्थान र बैंकका कर्मचारीहरुले शुल्क नै बुझाएर आईसोलेसनमा होटलमै बस्न इच्छा गरेको पाइएको छ ।” संस्थान र बैंकले आफ्ना कर्मचारी बस्दा त्यसको खर्च व्योहोर्ने प्रबन्ध मिलाई दिएपछि विराटनगरमा होटल बुक हुन थालेका हुन । कतिपय उद्योगले आफ्ना मजदुरलाई राख्न आईसोलेसन चलाएका छन् । बुढीगंगाको विराट मेडिकल कलेजमा पनि आईसोलेसन शुरु भएको छ ।
एयरपोर्टमोडको होटल एसिया टिकले ६५ बेड क्षमताको आईसोलेसन संचालनमा ल्याईसकेको छ । होटलका सञ्चालक पुण्य भट्टराई भन्छन्,“विद्युत प्राधिकरण तथा बैंकबाट समेत हामीलाई कोठा चाहिएको भन्ने खबर आएको छ ।” उनले प्राधिकरणबाट १५ वटा कोठा बुबक गर्ने निर्णय भएको र सोही अनुसारको सहमति पठाइएको बताए । आयल निगमले पनि ५ वटा कोठा बुक गरेको छ । भट्टराईले होटलमा काम गर्ने कर्मचारीको लागि भाईरसबाट बच्न र संक्रमण हुन नदिन सुरक्षाको पूर्णत प्रबन्ध मिलाइएको छ । पिपिईदेखि मास्क र फेससिल्डको व्यवस्थाका साथै सरकारले तोकेको मापदण्डलाई समेत हुवहु पालना गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले होटलहरुमा आइसोलेसन संचालन गर्न आह्वान गरेको थियो । र निवेदन परेनन् । नेपाल आयल निगम र नेपाल विद्युत प्राधिकरण, विभिन्न सरकारी तथा निजी बैंकका प्रदेशस्थित कार्यालयले एयरपोर्ट मोडको होटल एसियाटिकका कोठा बुक गरिसकेका छन ।
प्रदेशको कोभिड क्राईसिस म्यानेजमेन्ट कमिटीले झापा, मोरङ र सुनसरीका एक–एक होटलमा आइसोलेसन संचालन गर्ने निर्णय गरेको थियो । होटल व्यवसायी तथा सामजिक अगुवा भविश श्रेष्ठ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले समेत संक्रमित भए होटलमै बस्न चाहेको आफूहरुलाई समेत जानकारी आएको सुनाए ।
विराटनगरमा होटल प्यासिफिकले यसअघि नै क्वारेन्टिनको सेवा शुरु गरिसकेको छ । त्यहाँ स्वाब परीक्षण गर्न दिएका र नतिजा आउन बाँकी रहेकाहरु बस्ने गरेका छन् । केही दिनअघि एक जना सहकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब दिएको विराटनगरका संचारकर्मी चुमन बस्नेतले भने“सहकर्मीलाई कोरोना पोजेटिभ रिर्पोट आएपछि हामी कार्यालयमा कार्यरत संचारकर्मी तथा कर्मचारी नतिजा नआउन्जेल प्यासिफिकको क्वारेन्टिनमा बस्यौं ।” उनले स्वाब दिएकाहरु सकेसम्म परिवार र समाजबाट अलग्गै क्वारेन्टिनमा बस्दा पोजेटिभ रिर्पोट आए अरुमा संक्रमण नफैलने बताए ।
विराटनगर महानगरपालिकाका अनुसार हाल स्वास्थ्य चौकी बैजनाथपुरमा ८ जना, कालि सेवा सदनमा ३६, मारवाडी सेवा सदनमा ४८ र होम आईसोलेसनमा ३२५ जना छन । क्वारेन्टिनमा अतिथि सेवा सदनमा ४०, रामजानकी सेवा सदनमा ४० र होटल प्यासिफिकमा ६ जना रहेका छन् । विराटनगरमा हालसम्म ७७१ जनामा कोरोना संक्रमण पुपिट भएको छ ।