धरान । धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धरान १५ कृष्ण पथका ६७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । यस अघि धरान १५ कै दशरथ पथका ७२ वर्षिया वृद्धाको मृत्यु भएको थियो ।
शनिबार आज मृत्यु भएका वृद्धको स्वास्थ्य अवस्था गम्भीर भएपछि गए राति प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकेन । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ ।
वृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो । साथै मृतकलाई उच्च रक्तचापको बिरामी पनि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापनका लागि तयारी भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।