धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्समा कोरोना संक्रमण थपिदै गएका छन् ।
प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० वर्षीया नर्समा संक्रमण पुष्टि भएको हो । धरान ११ सयपत्री चोक घर भएकी नर्स प्रतिष्ठानको गेष्ट हाउसमा रहेको क्वारेन्टाइनमा बस्दै आएकी थिइन । यसअघि संक्रमण पुष्टि भएको नर्सहरुको कन्ट्याक ट्रेसिङको क्रममा उनको पनि स्वाब लिएर परीक्षण गरिएको थियो ।
प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । यसबाहेक गाइनो वार्डमा हिजो संक्रमण पुष्टि भएका एक महिलाको कुरुवामा पनि संक्रमण पुष्टि भएको डा.सापकोटाले बताए ।
प्रवक्ता सापकोटाका अनुसार हेल्प डेस्कमा आफै आएर स्वाब दिएका अन्य ३ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ, तर उनीहरु कहाँका हुन् भनेर प्रष्ट भइनसकेको उनले बताए ।
त्यस्तै धरान १० स्थित विययपुर हस्पिटलमा कार्यरत ५४ बर्षीय रेडियोग्राफरमा संक्रमण देखिएको छ । उनी धरान १७ स्थित आदर्श मार्गमा डेरामा बस्छन् ।
उनले यसअघि विजयपुर हस्पिटलमा संक्रमण पुष्टि भएका विरामीको एक्स रे गरेको पाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
वर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत धरान १७ रत्नचौकका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी वर्दिवासस्थित अख्तियारमा कार्यरत भएपनि हाल धरानस्थित घरमा नै छन् । करिब १० दिनदेखि ज्वारो आएपछि उनले वर्दिवासमा नै स्वाब दिएका थिए भने धरान आएर पनि स्वाब परीक्षण गराएका थिए ।