धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा एभोकाडोको बिरुवा वितरण गरेको छ ।
चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाका विभिन्न वडामा रहेका कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३ सय एभोकाडोको बिरुवा वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । एभोकाडो उत्पादन हुने क्षेत्र छनौट गरेर सो गाउँपालिका अन्तरगत रहेका वडा नं. १, २, ५, ६ र ८ नम्बर वडाका १९ वटा कृषक समुहलाई एभोकाडोको विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए ।
पछिल्लो समय धनकुटा जिल्लामा नै एभोकाडो खेती तर्फ कृषकहरु आर्कषित बन्दै गएपछि स्थानीय सरकारहरुले एभोकाडो खेतीमा लगानी गर्दै आएका छन् । फलफुलको राजा मानिने एभोकाडो उत्पादन तथा विक्री वितरणलाई व्यापक र व्यवसायिक बनाउनको निम्ति धनकुटा नगरपालिकाले दुई वर्ष अगाडी नै धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरेर अभियानकै रुपमा एभोकाडो खेतीलाई अगाडी बढाएको छ ।
चौबिसे गाउँपालिकाले एभोकाडो खेती विस्तार अभियानलाई चालु आर्थिक वर्षदेखि शुरु गरेसँगै यसको परिणामको आधारमा आगामी बर्ष पनि यो अभियानलाई निरन्तरता दिईने गाउँपालिकाले जनाएको छ । तराईको भू–भागदेखि करिब १ हजार ७ सय मीटरसम्मको उचाईमा उत्पादन हुने एभोकाडो प्रतिकेजी दुई सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म विक्री हुदै आएको छ । नेपालमा एभोकाडो उत्पादन हुने क्षेत्र मध्ये धनकुटा पहिलो रहेको छ भने इलाम, म्याग्दी, कास्की लगायतका २६ जिल्लामा पनि यसको खेती शुरु गरिएको छ ।