धनकुटा/ धनकुटा नगरपालिकाले नगर क्षेत्रलाई स्मार्ट भिलेज निर्माण गराउने उद्देश्यका साथ सो अभियानलाई तिब्र बनाएको छ ।
धनकुटा नगरपालिका र यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नमुना गाँउ बनाउने अभियानका साथ एक करोड १५ लाख बराबरको स्मार्टभिलेज कार्यक्रम सञ्चालन भईरहेको छ । नगरपालिकाले नगरको विभिन्न वडाहरुमा किसानको उत्पादनमा वृद्धि गरी कृषकलाई आत्मनिर्भर बनाउन टनेल खेतीका लागि प्लाष्टिकको टनेल हाउस वितरण गरेको छ । नगरपालिकाको ४ वटा वडामा ६ सय जना किसानलाई प्लाष्टिकको टनेल वितरण गरेको छ । त्यस्तै नगरपालिकाका ६ सय किसानलाई रासायनिक मल प्रयोग न्यूनिकरणका लागि गोठ सुधार कार्यक्रम अन्तरगत मलमुत्र संकलनका लागि ट्यांकी वितरण गरिएको पनि धनकुटा नगरपालिका प्रमुख चितन्न तामाङले बताए ।
सोही अभियान अन्तरगत प्लाष्टिक पोखरी निर्माण गरी हिउँद र सुख्खायाम तथा पानीको अभाव भएको क्षेत्रमा सिंचाईको सुबिधा पु¥याउने उद्देश्यले ६ सय कृषकलाई प्लाष्टिक पोखरी निर्माणको लागि प्लाष्टिक वितरण गरिएको छ भने जलवायू परिवर्तन न्यूनिकरणका लागि कुहिने फोहोर तथा गोबर प्रयोग गरेर ग्याँस उत्पादनका लागि ४२ वटा होम वायो ग्याँस वितरण गरेको नगर प्रमुख तामाङले बताए । किसानलाई धनकुटा स्मार्ट कृषि एप्सबाट कृषि सम्बन्धी बजार भाउ, मौसम, कृषि सम्बन्धी नयाँ प्रविधि लगायतको विषयमा सुचना तथा जानकारी दिने उद्देश्यले वाइफाई सेवा शुरु गरेको छ ।
धनकुटा नगर स्मार्ट कृषि एप्स सञ्चालन गर्नका लागि नगरपालिकाको ४ वटा वडामा सामुहिक रुपमा सञ्चालन गर्न मिल्ने गरी ३० वटा वाइफाई सेवा वितरण गरिएको धनकुटा नगरपालिकाले जनाएको छ । माहुरी पालन हुने क्षेत्रमा माहुरीको घार वितरण गर्दै आगामी बर्षहरुमा पनि यो अभियानलाई निरन्तरता दिने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।