धरान । वर्षेनी वर्षाको समयमा धरानको सर्दु खोलाले पार्ने क्षति न्युनीकरणका लागि धरान उपमहानगरपालिकाले अघि सारे सर्दु करिडोरको योजना अघि बढेको छ ।
सेउती करिडोरको विषयमा बाइपास कोशी राजमार्गको पनि चर्चा चलिरहेकाले अहिले सर्दु करिडोरलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरे पछि काम अघि बढेको छ । नेकपाका स्थानीय नेता तथा प्रदेश र संघीय संसदहरुको पहलमा सर्दु करिडोरको योजना पास भएको छ । सर्दु करिडोरको डिपिआर तयार भईसकेकाले निर्माणका लागि बहुवर्षिय योजनामा प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले दुई वर्ष भित्रमा सम्पन्न हुने गरि करिडोर निर्माणका लागि जेठ ९ गते नै टेण्डर आव्हान गरिसकेको छ ।
प्रदेश सरकार सर्दु करिडोरका लागि २० करोड रुपैया विनियोजन गरेको नेकपाका इञ्चार्ज चोत्लुङले बताए । आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित बजेट पनि बहुवर्षिय योजनामै समावेश गरे योजनालाई क्रमागतमा पारिएको उनको भनाई छ । उनका अनुसार धरान १७ स्थित पटनाली जाने सर्दु पुल देखि धरान १६ स्थित देवी मार्गको झोलुङ्गे पुल सम्मको करिब ५ किलोमिटर पहिलो चरणको करिडोर निर्माण हुनेछ । उनले भने, करिडोरले तटबन्धनको काम पनि गर्नेछ, रिङरोडका लागि पनि हुनेछ, यसरी ३ किसिमको फाइदा पुग्न सक्छ ।’
सर्दु करिडोर बहुवर्षिय योजना भएकाले संघले चालु वर्षमा विनियोजन गरिदिएको ५ करोड रुपैया पनि यसै योजनामा गाभिन सक्ने सम्भावना रहेको उनले बताए । प्रदेश सरकारको बजेटले पहिलो चरणमा ट्रयाक खोल्ने, सडक ग्राभेल गर्ने, तटबन्धनको काम गर्नेछ, भने दोस्रो चरणमा पिचको काम अघि बढाइने छ ।
सेउती र सर्दु करिडोरका लागि तत्कालिन धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको पहलमा संघले १० करोड विनियोजन गरेको थियो भने प्रदेश सरकारले ८ करोड रुपैया विनियोजन गरेको थियो । तर विविध कारण योजना अघि बढ्न सकेको थिएन् ।