धरान । अघिल्लो वर्ष देखि फैलिएको अमेरिकन फौजी किराको प्रकोप यस वर्ष पनि फैलिन शुरु भइसकेको छ ।
अघिल्लो वर्ष धरान उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६ मा धान खेतिमा देखिएको अमेरिकन फौजि किराको प्रकोप यस वर्ष मकै बालिमा देखिन थालेको छ ।
अहिले तीनै वटा वडाका कृषकहरुले मकै खेति लगाएका छन् । भर्खरै लगाएका मकै बालिमा फौजि किराले क्षति गर्न थालेको किसानहरुले गुनासो गरेका छन् । केही दिन अघि धरानको वडा नम्बर २० मा अमेरिकन फौजि किराको प्रकोप अनुगमन गरिएको थियो ।
अमेरिकन फौजी किरा अथवा (गुबोदेखि पात नल सबै मर्ने रोग) ले यस वर्ष पनि किसानहरु चिन्तित हुन थालेका छन् ।
मकै उम्रने बित्तिकैदेखि आक्रमण गरेर पुरै बाली नष्ट गरिरहेको वडा नम्बर ४ का कर्मचारी समेत रहेको धरान ६ का कृषक इश्वर लामिछानेले गुनासो गरे ।
उनका अनुसार वडा नम्बर ६ को पानवारी, ५ को खैरेनी, ठिङगाबारी, ४ को पत्रङबारी, मनुवाटार लगाएत स्थानका लगाएको मकै बारीमा फौजी किराले क्षति पुर्याउन थालेको छ ।
उनले भने, ‘अहिले मकैको सिजन हो, धरानका कृषिक्षेत्रकै रुपमा रहेको वडा नम्बर ४, ५ र ६ का अधिकांश कृषकहरुले मकै खेति लगाएका छन्, तर फौजि किराले क्षति पुर्याउन थालेको छ ।’ यति नै बेला उपचार नभए यसपालीको मकै पुरै नष्ट हुने उनको भनाई छ ।
अघिल्लो वर्ष समयमै किराको पहिचान गर्न नसक्दा धान बालि र मकै बालि नष्ट गरिदिएको थियो । यस वर्ष कृषकहरु समयमै सचेत बनेर फौजि किराको प्रकोप नियन्त्रणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
लामिछानेले भने, ‘यसमा नगर कृषि शाखा, जिल्ला स्थित ज्ञान केन्द्र, प्रदेश सरकार कृषि विभागले ध्यान केन्द्रित गरि समयमै औषधि उपचार विधिबारे कृषकलाई जानकारी गराई रोगकिरा नियन्त्रण अभियान नै सञ्चालन गरि मकैबाली र कोरोनाका कारण निम्तिन सक्ने भोकमरीबाट कृषकलाई जोगाउन जरुरी छ ।’
मकै लगाएको ८÷१० दिनमै यसले क्षति गर्ने भएकोले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने विज्ञ बताउँछन् । पातको माथिल्लो भागहरुमा यो किराको पोथीले पारेका अण्डा देख्न सकिन्छ । त्यस्तो देखिए लगत्तै व्यवस्थापनको विधि शुरु गर्नुपर्ने उनीहरुको सुझाव छ ।
अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ ।
जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ । लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ ।
यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ । घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने कृषि विज्ञको भनाइ छ ।