आर्थिक क्षेत्रका महामारी निर्मित चुनौतीहरु

  • बैशाख १८, २०७७
  • - योगेश्वर  रोमखामी मगर
alt

 
अर्थतन्त्र बलियो नहुदा कुनैपनि राष्ट्रको राष्ट्रिय सम्मानमा अभिवृधि हुन् सक्दैन I कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलंबी, पराश्रित र राजनीतिक हस्तक्षेपको पिडा सहन बाध्य हुन्छ I कमजोर अर्थतन्त्र भएको राष्ट्र नाममात्रकोलागि  सार्वभौम सम्पन्न हुन्छन I राष्ट्र कमजोर हुदा जनताको मनोबलमा समेत असर पर्ने गर्दछ I
 
बलियो राष्ट्रको जनताको मनोबल उच्च हुन्छ I विगत तिन वर्ष देखि नेपालको आर्थिक वृद्धिको दर सकारात्मक हुदै गएको थियो र महत्वाकांक्षी योजनाहरु अगाढी राखिएको थियो, तर नेपालको अर्थतन्त्र विश्वव्यापी महामारीको आघातलाई सहन सक्ने खालको नभएको हुदा हाललाई आर्थिक वृद्धि दर समेतमा नकारात्मक असर पर्न सक्ने संभावना देखिएको छ I
 
बलियो स्थिर सरकार र दुरदर्शी राजनीतिक नेतृत्वको खाँचो रहेको यस अवस्थामा देशको राजनीतिनै पुन: खल्बलिने क्रियाकलाप हुनु अत्यन्त लज्जास्पद र निक्रिष्ट महसुस गरिएको छ I राजनीतिक स्थिरता र आर्थिक संपन्नता अन्योन्यास्रित विषय भएको हुदा मुलुकको आर्थिक सम्पन्नता र आत्मनिर्भरताको मुद्दा फेरी पछाडी धकेलिने हो कि भन्ने डर जनमानसमा व्याप्त रहेको आजको समयमा  आर्थिक पक्ष र महामारीको प्रभाव वारे  केहि चर्चा गर्न उपयुक्त ठानेको छु I राजनीतिक स्थिरता आर्थिक सम्पन्नताको लागि महत्वपूर्ण हुन्छ I वर्तमान समय महामारीले ल्याउन सक्ने चुनौतीहरुको सामना गर्नमा केन्द्रित हुनु पर्नेमा गैरजिम्मेवार आचरणलाई हास्यास्पद मात्र ठानेर उन्मुक्ति दिन कदापि सकिन्न I
 
राजनैतिक अस्थिरताको कारण विगत दुई दशक देखि २०१५ सम्म नेपालको आर्थिक वृद्धि दर औसत ४.४ प्रतिशतमा रह्यो I २०१५ पछि उर्जा विधुत र ठुला ठुला परियोजनाहरुको क्षेत्रमा उल्लेखनीय प्रगती भएको देखिन्छ I पिछलो तिन वर्ष यता आर्थिक वृद्धि गर औसत ७ प्रतिशत पुग्यो र २०२० मा यसलाई ८ प्रतिशत पुर्याउने योजना थियो I आर्थिक विचारकहरुले अर्थतन्त्रको वृद्धि दरलाई अध्ययन गर्ने क्रममा यसको तिन वटा क्षेत्रलाई अध्ययन मोडेलको रुपमा लिने गरेका छन I
 
यस अन्तर्गत प्रथम सेक्टर (क्षेत्र) जसलाई कृषि वा कच्चा पदार्थ, दोस्रो सेक्टर औधोगिक क्षेत्र र तेस्रोलाई सर्विस वा सेवाको क्षेत्र भनिन्छ I तेस्रो सेक्टर अन्तर्गत चिकित्सा सेवा, हस्पताल, निर्माण, सरकार र निजि क्षेत्रबाट पुर्याईने सेवाहरु होटल, पर्यटन, रियल स्टेट, डिपार्टमेन्टल स्टोर, बजार, शिक्षा, सुचना, संचार र मानव संसाधन ईत्यादी पर्ने गर्दछ I तेस्रो क्षेत्रले कुनै पनि राष्ट्रको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको हुन्छ I  विदेशबाट प्राप्त हुने रेमिटेन्स यस अन्तर्गत आउछ I २०१८ को आँकडा अनुसार नेपालको कृषि क्षेत्रको योगदान कुल जीडीपी मा २५.२९%, औधोगिक क्षेत्रको १३.४५% र सर्विस सेक्टरको ५१.३९% थियो I
 
आर्थिक वर्ष २०१८/१९ अनुसार चिन लगायत दक्षिण एशियाको ८ वटा गरी जम्मा ९ राष्ट्रहरुको आर्थिक वृद्धिदर हेर्दा भारत ७.३% र बंगलादेश ७.३% पछि  ६.५% सहित नेपाल तेस्रो स्थानमा थियो I पाकिस्तान २.९% र अफगानिस्तान ३.०% सहित सबै भन्दा तल्लो स्थानमा थिए I यिनी दुवै राष्ट्रहरुको अस्थिर राजनीति र भ्रष्टाचार यसको कारण थियो भन्न अनुपयुक्त नहोला I २०१९ अनुसार कुल जीडीपी २९.८१ अर्ब डलर भएको नेपाल भन्दा बंगलादेशको जीडीपी दश गुणा ठुलो छ I
 
विगत देखि उत्पादन र औधोगिक क्षेत्रहरुलाई वेवास्ता गरिएको कारण नेपालको जीडीपी यति न्यून हुन् गएको हो I नेपालको उच्चतम कर, लगानीको लागी झन्झटिलो र अमेत्रिय सरकारी वातावरण र गैर जिम्मेदार नोकरशाहीको कारण विदेशी लगानीलाई पर्याप्तमात्रमा आकर्षित गर्न सकिएको छैन I विदेशी लगानीको लागि अत्यन्त मैत्रीपूर्ण वातावरण भएकै कारण विश्वभरिका लगानीकर्ता चिन तर्फ आकर्षित भए र चार पांच दशक भित्र यत्तिका उत्पादन गर्न थाल्यो कि आज संसारको लगभग ८० प्रतिशत राष्ट्रहरुमा चिनको उत्पादित सामान पुग्दछ I यी राष्ट्रहरुको घर-घरमा आज चिन पुगेको छ I
 
हामीले वर्षो देखिको कृतिम लोडसेडिङ बाट मुक्ति पाएको धेरै भएको छैन I नेपाल विधुत प्राधिकरणमा कुलमान घिसिंगको आगमन, कुशल व्यवस्थापन र तत्कालिन उर्जामन्त्रीको प्रशंसनीय सहयोग र समर्थन स्वरूप भ्रष्ट्र अपराधीहरुको जालोले रचना गरेको लामो कृतिम अन्धकार बाट नेपालीहरुको ठुलो संख्यालाई मुक्ति मिलेको छ I जलस्रोतको धनी देश नेपालले धेरै पछि सम्म आफ्नो क्षमता भन्दा धेरै कम मात्रामा विधुत उत्पादन गर्दथ्यो, तर विगत केहि वर्ष यता यसमा आशालाग्दो वृद्धि भएको छ I २०१६ यता विधुत उत्पादनको क्षेत्रमा वृद्धि दर तिव्र रहदै आएको छ र आर्थिक वर्ष २०१८/१९ को मध्य मार्च सम्म यसको उत्पादन लक्ष्य ११४२ मेगावाट पुर्याउने सरकारी अठोठ अनुसार प्रगतीपनि देखियो I
 
Renewable energy (नवीकरणीय ऊर्जा) जस अन्तर्गत प्राकृतिक प्रक्रिया जस्तै सोलर सिस्टम, ह्वा, फोहर मैलाबाट उत्पादित उर्जा पर्दछ, लाई देशको कम्तिमा १८% जनता सम्म २०१९ भित्र पुर्याउने लक्ष्यपनि वर्तमान सरकारको थियो I यस अतिरिक्त मध्य पहाडी राजमार्ग, उत्तर दक्षिण मार्ग तथा पोखरा र भैरहवा विमानस्थलको स्तरोन्नति र निर्माणपनि राम्रै गतिमा भई रहेको छ I औधोगिक विकासको क्षेत्रमा सकारात्मक अवधारणाको विकास भएका छन र यस अनुरुप वृद्धि भएमा २०२५ सम्म विधुतको मांग २०१८ को तुलनामा दोब्बर हुने आंकलन संबन्धित क्षेत्रका विज्ञहरुले गरेका  छन्  I ४० हजार मेगावाट भन्दा बढी विधुत उत्पादन गर्ने क्षमता नेपालसंग छ I
 
राष्ट्रिय योजना आयोगको आवधिक योजना अनुसार आगामी पाँच वर्ष भित्र ९.६.% को दरले आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको थियो I यस योजना अन्तर्गत २२ वटा राष्ट्रिय गौरवका योजनाहरु, १७७ वटा अत्यन्त प्राथमिकताका आयोजनाहरु, साथै आगामी पांच वर्ष भित्रमा १५९५ अमेरिकन डलर प्रति व्यक्ति आय पुर्याउने लक्ष्य समेत यस योजना अनुसार देखिन्छ I ठुला परिवर्तनकारी आयोजनाहरुको लागि जस्तै मेलम्ची खानेपानी आयोजना, पोखरा र भैरहवा विमानस्थल लगायत १८ वटा आयोजनाहरुमा सरकारले हाथ हालेको छ I  एशियन विकास बैंकले गरेको सहयोग अनुरुप विगतमा सरकारी अक्षमताले लोन रकमको अपेक्षा अनुरुप प्रयोग हुन् नसकेको कुरापनि छदै छ I सकारात्मक  रुपमा अग्रसर आर्थिक वृद्धिलाई महामारीले अवरोध गर्ने निश्चित देखिन्छ I
महामारी पछिको समस्या:
हाललाई नेपालको जीडीपी मा सर्विस सेक्टरबाट ५७% को योग्दान पुर्याउने लक्ष्य अपेक्षित थियो I मध्य पूर्वको खाडी मुलुक र दक्षिण पूर्वीय एसियामा कार्यरत नेपालीहरुले पठाएको विदेशी मुद्रा रेमिटेन्सले ३० देखि ३५ प्रतिशत सम्मको योगदान जीडीपी लाई गर्ने गरेको छ I नेपालको लागि विदेशी मुद्रा आर्जन गर्ने ठुलो स्रोत हो रेमिटेन्स I २०१८ को तथ्यांक अनुसार ८.१ अर्ब अमेरिकन डलर विदेशमा काम गर्ने कामदारहरु मार्फत नेपालले पाएको थियो I
 
रेमिटेन्स आर्जन गर्ने राष्ट्रहरुमा नेपाल १९औ नंबरमा रहेको छ I मध्य पुर्व र दक्षिण पूर्वको १४ वटा राष्ट्रहरुमा नेपाली कार्यरत छन I यस लगायत अन्य राष्ट्रहरुमा समेत हालको महामारीले गर्दा कल कारखाना र अन्य काम बन्द भएको अवस्थामा बेतलबीहरुको संख्यामा भारी बढोत्तरी दिन प्रतिदिन हुदै गई रहेका छन र फर्किने क्रम शुरु भई सकेको छ I वातावरण पुन: सामान्य हुन् वर्ष दिन लाग्न सक्छ I नेपालको प्रत्येक गाउँबाट नेपालीहरु विदेशिएका छन र यस बाट प्राप्त आम्दनीले घर गृहस्ती चलेको छ I नेपालको गरिबी उन्मुलनमा यसको उल्लेखनीय योगदान छ I नियमित रुपमा चलीरहेको घर गृहस्थीलाई यस महामारीले धक्का दिने छ I
 
बैंक बाट लिएको लोन कर्जा चुकाउनका लागि विदेशमा डबल शिफ्टमा काम गर्न वाध्य मानिसहरु फर्किने छन I सरकारी तथ्यांक अनुसार दैनिकरुपमा १५०० जति नेपाली युवाहरुको समुह विदेशिने गरेका थिए र अन्दाजी ४५ लाखको संख्यामा नेपालीहरु विदेशमा आय आर्जन गर्ने काममा छन I राष्ट्रिय अन्तर्राष्ट्रिय उडानहरु बन्द छन I उडान शुरु हुने वित्तिकै भारी संख्यामा देश भित्रिने क्रम शुरु हुने छ I सरकार द्वारा घोषित पर्यटन वर्ष २०२० महामारीले गर्दा सफल हुन् सकेन I कोरोना भायरसको उपचार निम्ति भ्याक्सिनको सफल प्रयोग हुन् अझ छिट्टोमा एक वर्ष वा त्यस भन्दा बढी लाग्न सक्छ I तब सम्म पर्यटन आगमन पक्कापनि हुने छैन वा आशालाग्दो हुने छैन I
 
नेपालको आर्थिक क्षेत्रमा पर्यटन र यस संग संबन्धित संरचनाहरु होटल, रेस्टुरेन्ट, पदयात्रा, हिमाल आरोहण ईत्यादीले ठुलोमात्रामा रोजगार दिएको छ, राष्ट्रिय अर्थतन्त्रमा यसको ठुलो योगदान छ र नेपालले यसबाट बेग्लै पहिचान बनाएको छ I ठुलो संख्यामा भारत लगायत अन्य मुलुकबाट हुने हिन्दु र बौद्ध धार्मिक क्षेत्रका पर्यटन र यस संग संबन्धित रोजगारका क्षेत्रमा समेत अप्रत्याशितरुपमा असर परेको छ I नेपालको रोजगारको क्षेत्रहरुमा यस बाट ठुलो चुनौती देखा परेको छ I यस तर्फ सरकारको ध्यान र समयमै समाधानार्थ प्रयास शुरु हुनु पर्नेमा राजनैतिक खिचातानी र कुर्सिमोहले लिएर आएको कलह सतहमै छर्लंगहुने गरी देखिनु अनिष्टको संकेत हो I केहि दिनको लकडाउन पछि देश भित्रका कलकारखाना सुचारु होला तर फर्केका युवाहरुको विशाल जनसमुहलाई कसरी व्यवस्थित गर्ने हो समयमै तयारी गर्नु राष्ट्रको हितमा हुनेछ I
 
भारत जस्तो विशाल र व्यापक औधोगीकरण भएको देशको अर्थतन्त्रमा त यो महामारीले प्रभाव पार्दै छ भने नेपालको कस्तो अवस्था हुने हो I अन्दाजी दुई करोड ८१ लाख ९८ हजार ३५२ भारतीयहरु NRI (गैर आवासीय भारतीय) र कामदारहरुको रुपमा विभिन्न देशहरुमा कार्यरत छन I करीब ९० लाख भारतीयहरु अरब देशहरुमा कार्यरत छन भने उक्त देशहरुमा गैस, तेल र केहि निर्माणका काम बाहेक अन्य सबै कुरा ठप्प भएका छन I ९० लाखको अन्दाजी १८% जनसख्यामात्र अहिले काम गरिरहेका छन, त्यस बाहेक अरुले मार्च र अप्रिलको तलब सम्म नपाएको अवस्था छ I उडान सुचारु हुने वितिक्कै उनीहरुको फर्किने क्रम शुरु हुने छ र यसको असर भारतमा समेत देखिने छ, त्यसबाट भारतमा काम गर्ने नेपालीहरुलाई समेत असर पर्न सक्छ I
 
काम बन्द भएको कारण कतिपय नेपालीहरु फर्किने क्रममा बार्डरमा थन्किएको अवस्थावारे हामी जानकार छौँ I करिब २६ लाख नेपालीहरु मध्य पुर्व, दक्षिण कोरिया र मलेशियामा कार्यरत छन I विदेशबाट फर्किने र निजि क्षेत्रले रोजगार दिननसकेको अवस्थामा सरकारले हस्तक्षेप गर्दै सरकारीस्तरबाट रोजगार सिर्जना गर्नु पर्ने अवस्था आउछ र त्यसकोलागी पर्याप्त मात्रामा ग्रहकार्य र तयारीको आवश्यकता हुन्छ I आर्थिक वृद्धिको दर यस वर्ष २.२७% रहने केन्द्रिय तथ्यांक विभागको अनुमान छ I
 
अरु क्षेत्रको गतिविधि जेठको महिना सम्म सामान्य अवस्थामा फर्किने संभावना रहेतापनि विश्वभरी परेको असरले गर्दा होटल लगायत पर्यटनका क्षेत्रहरुलाई तंग्रिन वर्ष दिन लाग्न सक्ने अनुमान गरिएको छ I  १९३० पछि विश्व सामु यो सबैभन्दा भयावह आर्थिक मन्दीको दौर हुन् पुगेको छ I
 
सकारात्मक पक्ष:
चुनौतीहरु संग संगै भविष्यका लागि सकारात्मक सन्देशहरुपनि आउने गर्दछ I अधिकांशत: २० देखि ४० वर्षका युवाहरुको जनशक्ति देश बाहिर छ, यिनीहरुको आगमनलाई समाज र देशको विकासमा प्रयोग गर्ने वातावरण बनाउन सकिन्छ I वर्षो देखि छाडिएका देशका उजाड, बँजर खेति योग्य भुमि फसलले लहलहाउनेगरी कृषि क्रान्ति गर्न सकिन्छ I कृषि क्षेत्र बलियो हुदा देश आत्मनिर्भर हुनका साथै यस क्षेत्रमा संभावना र रोजगारको अवस्था सृजना हुन्छ, जसले गर्दा मुलुक बलियो भई भविष्यमा सानातिना समस्याले हल्लिने संभावना न्यून भएर जान्छ I
 
अन्न, तरकारी फलफुलको निर्यात प्रवर्धन गर्न सकिन्छ I विदेश बाट फर्केका युवाहरुले बाहिर सिकेका शिप र ज्ञानलाई सरकारको सहयोग र प्रोत्साहन पाउन सकेमा उल्लेखनीय योगदान दिन सक्नेछन I  सरकारले यसकोलागि  मैत्रीपूर्ण वातावरणको निर्माण गर्नु पर्दछ I राष्ट्रिय नेतृत्वले यस अवसरलाई राष्ट्रहितका संभावनाहरुको निर्माणसंग जोड्न सक्छ I देश प्रेमको भावनाको विकास गर्दै राष्ट्रलाई बलियो र आत्मनिर्भर बनाउने अभियान चलाउन सकिन्छ, यो भन्दा गौरवशाली आयोजना अरु हुन् सक्दैन I
 
प्रायःजसो युवा र परिवारका सदस्यहरु देश र परिवारबाट टाडीदा हुने अपुरणीय सामाजिक क्षति कम हुनेछ I देश भित्र कल कारखाना, उधोग धन्दाहरुलाई आवश्यक जनशक्ति उपलब्ध हुनेछन I यसको साथ साथै सरकारलाई भविष्यमा उपयोगी हुनेखालको माटो सुहाउदो अर्थतन्त्रको निर्माणका लागि सोचने र अग्रसर हुने अवसर प्राप्त हुनेछ I प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्तालाई मात्र निर्वाह भत्ता दिने कार्यक्रममा सिमित नभई योजना अनुरुप प्रभावकारी हुनु पर्ने देखिन्छ I
 
विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु आएका हुन् तर राजनीतिक कारणले प्रभावकारी हुन् सकेका थिएन् I  
भारतीय समाचार स्रोत अनुसार वर्षो देखि अनेकौं प्रयास र परियोजनाहरुको बावजुदपनि गर्न नसकिएको काम प्रकृतिले विगत एक महिना र केहि दिनमा गरी सक्यो I हरिद्वार र ऋषिकेशमा गंगाको पानी पिउने लायक भई सक्यो रे I त्यसैगरी संसार भरीका वातावरण अहिले प्रदुषण मुक्त भई सकेको छ I
 
ठुला-ठुला आयोजनाहरुमा खर्च गर्न भन्दा प्रकृतिलाई छेडछाड नगरिएको खण्डमा प्रकृतिले आफै आफ्नो काम गर्दछ भन्ने यो एउटा सबक हो I संसारको सबै भन्दा ठुलो र अराजक भायरस मानिस जातिले सबक पाएको छ र यसलाई भुल्नु ठिक नहोला I प्रकृतिको अगाढी यसको हैसियत प्रष्ट भएको छ, यो एउटा अत्यन्त सकारात्मक पक्ष हो I
 
उपसंहार: 
राष्ट्रिय संकटको यस अवस्थामा सबै राजनीतिक पार्टीहरु एकजुट हुनु पर्ने हो I यस्तो समयमा पनि सत्तारुढ पार्टी भित्र राजनितिक उठापटक भएको देख्नु र सुन्नु उदेक लाग्दो विषय हो I बिभिन्न ठाउँमा राजनीतिक भागभण्डा नमिलेको कारण लक्षित समुदायले आवश्यक सहयोग नपाएको समाचार आजको मिति सम्मपनि सुन्नमा आई रहेको छ I
 
ढिला सुस्ती गरी  निष्पक्षताका साथ् कार्य सम्पादन नगर्नेहरु राष्ट्रघाती हुन् I यिनीहरु लगायत भरतपुर अस्पतालका सामाग्री चोरहरुलाई विप्लवले भाटे कारवाही गर्नु भन्दा पैला संबन्धित निकायबाट राम्रो सन्देश जानेगरि कानुनी कारवाही गरिनु उपयुक्त हुनेछ I सरकारी प्रयास बाट राम्रा कामहरुपनि भएका छन तर अप्रिय क्रियाकलापको फेहरिस्तपनि साना छैन I सरकारले बकबक गर्नु भन्दा राम्रो कार्यको निष्पादनगरेको जनता हेर्न र अनुभूति गर्न चाहन्छ I 
 
- पूर्व एसएसपी, नेपाल प्रहरी
 

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved