धरान/ धरानमा पहिलो पटक आयोजना हुन लागेको धरान फिल्म फेस्टिभलका लागि चलचित्र आवेदन खुल्ला गरिएको छ।
आयोजकले मङ्गलवार देखी चलचित्र पठाउन सकिने गरी अनलाइन आवेदन फारम सार्वजनिक गरेको हो।
बीपीफोर इन्टरटेन्मेन्टको आयोजनामा हुने महोत्सवमा सहभागी हुन चाहने चलचित्र निर्माता तथा निर्देशकले आफ्ना चलचित्र अनलाइनमार्फत पठाउन सक्नेछन्।
आयोजकका अनुसार महोत्सवमा ४० मिनेटसम्मका फिचर फिल्म,छोटा चलचित्र तथा वृत्तचित्र ९डकुमेन्ट्री० लगायत विभिन्न विधाका चलचित्रका लागि आवेदन खुल्ला गरिएको छ।
महोत्सवको आधिकारिक फेसबुक पेजमार्फत क्युआर कोड र आवेदन लिङ्क सार्वजनिक गरिएको छ। त्यस्तै,महोत्सवको आधिकारिक वेबसाइट तथा इभेन्ट व्यवस्थापक इभेन्टलयको वेबसाइटमार्फत पनि चलचित्र पठाउन सकिने महोत्सवका निर्देशक एवं आयोजक संस्थाका सञ्चालक विनोद विश्वकर्माले जानकारी दिए। उनका अनुसार चलचित्र आवेदन मङ्सिर १० गतेसम्म दिन सकिनेछ।
महोत्सव आगामी मङ्सिर २७ र २८ गते धरानमा सञ्चालन हुनेछ। दुई दिने महोत्सवमा छनोट भएका चलचित्र प्रदर्शनसँगै चलचित्रसम्बन्धी कार्यशाला, मास्टर क्लास,चलचित्र पत्रकार तथा कलाकार बिच अन्तरक्रिया र चलचित्र पर्यटनसम्बन्धी प्यानल छलफल आयोजना गरिने विश्वकर्माले बताए।
महोत्सवमा विशेष चलचित्र प्रदर्शन, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा सांस्कृतिक प्रदर्शनीसमेत समावेश गरिने आयोजकले जनाएको छ।
महोत्सवका विभिन्न कार्यक्रम तथा विधामा सहभागी हुन इच्छुक व्यक्तिका लागि आधिकारिक वेबसाइट र इभेन्टलय मार्फत छुट्टाछुट्टै दर्ता फारमसमेत खुला गरिने आयोजकले जनाएको छ।