धरान/ बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
सुनसरी जिल्ला अदालतको फैसलाअनुसार १ लाख ३० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय तोकिएका इटहरीका ४८ वर्षीय सूर्यबहादुर अधिकारी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार २०८१ भदौ २६ गते सुनसरी जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा अधिकारीलाई उक्त सजाय सुनाएको थियो। अदालतको लगत नम्बर ४५५१ रहेको उक्त मुद्दामा फैसला भएदेखि उनी फरार रहेका थिए।
फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा मंसिर ३ गते बिहान १०ः३० बजे अस्थायी प्रहरी चौकी पुष्पलालचोक र सामुदायिक प्रहरी बिट गैसारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई इटहरी उपमहानगरपालिका–८ स्थित आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका अधिकारीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको प्रहरीले जनाएको छ।