धरान/ बराह ग्रुप अफ कम्पनी तथा बराह बचत तथा ऋण सहकारी संस्थासँग जोडिएको अर्बौं रुपैयाँको आर्थिक अनियमितता प्रकरणले नयाँ मोड लिएको छ ।
सहकारीको बचत रकम अपचलनसम्बन्धी अनुसन्धानका क्रममा लामो समयदेखि फरार रहेका शिवकुमार लामिछाने र अस्मिता भण्डारी एकै होटलको एउटै कोठामा बसेको तथ्य बाहिर आएसँगै उनीहरूबीचको व्यक्तिगत सम्बन्ध, संस्थागत संलग्नता र सम्पत्ति कारोबारबारे थप प्रश्न उठेका छन् । जानकारहरुका अनुसार उनीहरु दुई लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
प्रहरीले सुनसरीको इटहरीस्थित गोरखा होटलबाट शिबलाई नियन्त्रणमा लिएको र अस्मितापनि सोही शिबसँग बसेको घटनाले बराह सहकारी प्रकरणको अनुसन्धानलाई थप चर्चामा ल्याएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले शिवकुमार र अस्मिता लामो समयदेखि सँगै लुकीछिपी बस्दै आएको देखाएको बताइएको छ ।
रातो कारले दियो फरार शिवको लोकेशन
प्रहरीका अनुसार शिवकुमार लामिछानेको खोजीमा खटिएको प्रहरीको सादा पोशाकको बिषेश टोलीले उनको सम्भावित बसोबासस्थल पहिचान गर्न सामाजिक सञ्जालमा उपलब्ध तस्बिरलाई समेत आधार बनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका चार जना र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका दुई जना गरी छ जनाको सादा पोसाकको प्रहरी टोलीले गोरखा होटलको पार्किङस्थलमा राखिएको रातो रङको कारलाई विशेष निगरानीमा राखेको थियो ।
प्रहरीले शिवकुमारको फेसबुक पेजमा रहेको उनकी बहिनी मन्दिरा लामिछाने कारअगाडि उभिएर खिचेको तस्बिर र होटलको पार्किङमा राखिएको कारको तुलना गरेको थियो । उक्त तस्बिरमा देखिएको कार र होटलमा भेटिएको कार एउटै भएको निष्कर्षमा पुगेपछि प्रहरीले शिव त्यहीँ रहेको आशंकालाई बलियो बनाएको थियो ।
त्यसपछि प्रहरी टोलीले रातभर होटल आसपास निगरानी गरेको बताइएको छ । प्रहरीका अनुसार रातो कार र त्यससँग जोडिएको लोकेशन नै शिवकुमारसम्म पुग्ने महत्वपूर्ण आधार बनेको थियो ।
नुहाउँदै गरेको अवस्थामा पक्राउ
गोरखा होटलमा भिआइपी कोठा बुक गरेर बसेका शिवलाई प्रहरीले बाथरुममा नुहाइरहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरी टोलीले होटलको कोठामा प्रवेश गरी उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउको समयमा उनी नुहाइरहेको अवस्थामा रहेको र त्यसपछि कपडा लगाएर प्रहरी नियन्त्रणमा आएको घटनाले पनि चर्चा पाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिव र अस्मिता एउटै होटलको एउटै कोठामा बसेका थिए । उनीहरू लामो समयदेखि सँगै बस्दै आएको हुन सक्ने प्रहरीको दाबी छ ।
सहकारीदेखि बराह ग्रुपसम्म जिम्मेवार पदमा अस्मिता
धरान–१५ निवासी करिब ३३ वर्षीया अस्मिता भण्डारी सामान्य पारिवारिक पृष्ठभूमिबाट आएकी हुन् । उनी २०७५ सालदेखि बराह सहकारीको ऋण उपसमितिमा जिम्मेवार भूमिकामा रहेको बताइएको छ ।
त्यसैगरी उनी बराह ग्रुप अफ कम्पनीको प्रदेश सचिवालय सदस्यका रूपमा समेत सक्रिय थिइन् ।
शिव लामिछाने बराह ग्रुप तथा सहकारीको नेतृत्व तहमा रहेर काम गर्दै आएका थिए । अस्मिताको सहकारीको ऋण उपसमिति र बराह ग्रुपको संस्थागत संरचनामा रहेको संलग्नताले उनीहरूको व्यक्तिगत सम्बन्ध मात्र नभई संस्थागत जिम्मेवारी र आर्थिक कारोबारको पक्षसमेत अनुसन्धानको विषय बनेको छ ।
सहकारीको ऋण प्रवाह, निर्णय प्रक्रिया, रकमको परिचालन तथा संस्थाका जिम्मेवार व्यक्तिहरूको भूमिका अब अनुसन्धानको मुख्य विषय बन्ने देखिएको छ ।
अस्मिताको नाममा काठमाडौं उपत्यकामा ६ वटा बंगला?
यस प्रकरणको अर्को महत्वपूर्ण पक्ष सम्पत्ति कारोबारसँग जोडिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिव लामिछानेले अस्मिता भण्डारीका नाममा भक्तपुर, ललितपुर र काठमाडौंमा गरी कम्तीमा छ वटा बंगला खरिद गरेको विवरण फेला परेको दाबी गरिएको छ ।
त्यस्तै, शिवले सहकारी तथा बराह ग्रुप अफ कम्पनीसँग सम्बन्धित ठूलो रकम अस्मिताका लागि खर्च गरेको हुन सक्ने प्रारम्भिक तथ्यहरू भेटिएको प्रहरीको भनाइ रहेको छ ।
यदि अनुसन्धानबाट यी सम्पत्ति खरिद तथा रकमको स्रोत सहकारीको अपचलित रकमसँग जोडिएको पुष्टि भएमा यो प्रकरण केवल सहकारी ठगीमा सीमित नरही सम्पत्ति शुद्धीकरणको गम्भीर विषय बन्न सक्छ ।
तर उक्त सम्पत्तिको वास्तविक स्वामित्व, खरिदमा प्रयोग भएको रकमको स्रोत र कारोबारमा दुवैको भूमिका सम्बन्धित कागजात तथा अनुसन्धानबाट पुष्टि हुनुपर्ने विषय हुन् ।
जेठी श्रीमतीसँगको सम्बन्ध विच्छेद र व्यक्तिगत सम्बन्धको चर्चा
शिव लामिछानेको पारिवारिक जीवनसमेत यस प्रकरणसँग जोडिएर सार्वजनिक चर्चामा आएको छ ।
सार्वजनिक रूपमा चर्चामा आएका विवरणअनुसार शिवकी पहिलो श्रीमती रिना लामिछानेसँगको वैवाहिक सम्बन्धमा असमझदारी उत्पन्न भएको थियो।
अस्मिता भण्डारीसँग शिवकुमारको निकटता बढ्दै गएको थाहा पाएपछि पहिलो श्रीमतीले सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया अघि बढाएको दाबी गरिएको छ ।
सम्बन्ध विच्छेदसम्बन्धी विवादका क्रममा शिवकुमारको बैंक खाता तथा आर्थिक कारोबार रोक्का भएको र त्यसले उनको आर्थिक गतिविधिमा कठिनाइ उत्पन्न गरेको भन्ने विवरणसमेत सार्वजनिक भएको छ ।
पहिलो श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि शिवकुमारले अस्मितालाई कान्छी श्रीमतीका रूपमा राखेको चर्चा भए पनि उनीहरूको वैवाहिक अवस्थाबारे आधिकारिक कानुनी अभिलेखबाट पुष्टि हुन आवश्यक छ । यसरी व्यक्तिगत सम्बन्ध, पारिवारिक विवाद र संस्थागत आर्थिक कारोबार एकअर्कासँग जोडिँदै गएको देखिन्छ ।
९० दिन हिरासतपछि धरौटीमा रिहा, फेरि सम्पत्ति शुद्धीकरणको अनुसन्धान
बराह सहकारीको बचत ठगीसम्बन्धी मुद्दामा अस्मिता भण्डारी यसअघि पनि अनुसन्धानको दायरामा आएकी थिइन् ।
उक्त मुद्दामा उनी ९० दिनसम्म हिरासतमा बसेपछि उच्च अदालत विराटनगरको आदेशअनुसार धरौटीमा रिहा भएकी थिइन् । तर धरौटीमा रिहा भए पनि उनीविरुद्धको मुद्दा भने कायमै रहेको थियो ।
यसबीच सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको प्रक्रिया अघि बढेको थिएन भन्ने विवरण सार्वजनिक भएको छ । पछिल्लो पटक बुधबार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पुनः पक्राउ गरिएको बताइएको छ ।
यसले सहकारी ठगीसम्बन्धी कसुर र त्यसबाट आर्जित हुन सक्ने सम्पत्तिको स्रोत पहिचान गर्ने अनुसन्धानलाई फरक–फरक कानुनी कोणबाट अघि बढाइएको देखाउँछ ।
बराह सहकारी संकटग्रस्त घोषणा गर्न छानबिन समितिको निष्कर्ष
धरान उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनले बराह सहकारीलाई संकटग्रस्त घोषणा गरी सहकारी ऐन, २०७४ बमोजिम कारबाही प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।
सहकारीमा सर्वसाधारण बचतकर्ताले जम्मा गरेको रकमको सुरक्षा, रकमको वास्तविक अवस्था, ऋण प्रवाह र सञ्चालकहरूको जिम्मेवारीबारे गम्भीर प्रश्न उठेका छन् ।
सहकारीको आर्थिक संकट र बचतकर्ताको रकम फिर्ता हुन नसकेको अवस्थाले यस प्रकरणलाई व्यक्तिगत वा संस्थागत विवादमा मात्र सीमित राख्न सकिँदैन । यसको केन्द्रमा हजारौँ बचतकर्ताको आर्थिक भविष्य र उनीहरूले जम्मा गरेको रकमको हिसाबकिताब रहेको छ ।
अब अनुसन्धानको केन्द्रमा तीन महत्वपूर्ण प्रश्न
शिव लामिछाने र अस्मिता भण्डारी पक्राउ परेपछि बराह सहकारी प्रकरणमा अब मुख्यतः तीनवटा विषयको अनुसन्धान महत्वपूर्ण देखिएको छ । पहिलो, सहकारीको रकम कहाँ गयो रु सहकारीबाट प्रवाह भएको ऋण, कम्पनीहरूमा भएको लगानी, बैंक कारोबार र व्यक्तिगत खातामा पुगेको रकमको विस्तृत छानबिन आवश्यक छ ।
दोस्रो, अस्मिताका नाममा रहेको भनिएका सम्पत्तिको स्रोत के हो रु काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका भनिएका छवटा बंगला खरिद गर्दा प्रयोग भएको रकमको स्रोत, वास्तविक लगानीकर्ता र स्वामित्वको प्रकृति अनुसन्धानबाट खुल्नुपर्नेछ ।
तेस्रो, संस्थागत निर्णय प्रक्रियामा कसको कति भूमिका थियो रु शिवको नेतृत्व तहमा रहँदा अस्मिता ऋण उपसमितिमा जिम्मेवार पदमा थिइन् । त्यसैले ऋण स्वीकृति, रकम परिचालन र संस्थाको आर्थिक निर्णयमा उनीहरूको व्यक्तिगत तथा संस्थागत भूमिकाको परीक्षण आवश्यक छ ।
बचतकर्ताको रकमको हिसाब कहिले खुल्छ ?
बराह सहकारी प्रकरणमा शिव र अस्मिता पक्राउ पर्नु अनुसन्धानको एउटा महत्वपूर्ण घटनाक्रम हो । तर पक्राउ नै दोष प्रमाणित हुनु होइन । उनीहरूमाथि लागेका आरोप, सम्पत्ति कारोबार, सहकारीको रकमको स्रोत र व्यक्तिगत सम्बन्धसँग जोडिएका विषयको निष्पक्ष अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट टुंगो लाग्न बाँकी छ ।
अन्ततः यो प्रकरणको सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको बराह सहकारीमा सर्वसाधारणले जम्मा गरेको अर्बौं रुपैयाँ कहाँ, कसरी र कसको निर्णयमा परिचालन भयो भन्ने हो ।
व्यक्तिगत सम्बन्ध र पारिवारिक विवादभन्दा बाहिर निस्केर सहकारीको आर्थिक कारोबार, सम्पत्तिको स्रोत र जिम्मेवार पदाधिकारीहरूको भूमिकाबारे पारदर्शी अनुसन्धान हुनु नै पीडित बचतकर्ताका लागि सबैभन्दा महत्वपूर्ण विषय बनेको छ ।