धरान/ खेलकुदमा प्रतिभा भएर पनि अवसरबाट वञ्चित महिला खेलाडीलाई फुटबलमार्फत अघि बढाउने उद्देश्यले धरानमा तेस्रो संस्करणको वडा स्तरीय महिला नकआउट रनिङकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
जनपथ जागरण समाज धरान–१६ को आयोजना तथा धरान उपमहानगरपालिका वडा नं. १६ कार्यालयको संयोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म धरान–१६ स्थित रंगशालामा सञ्चालन हुनेछ ।
समाजले २०८१ सालदेखि निरन्तर रूपमा महिला वडा स्तरीय नकआउट रनिङकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । स्थानीय स्तरमा महिला फुटबल खेलाडी उत्पादन गर्ने, उनीहरूको खेलकौशल र क्षमता अभिवृद्धि गर्ने तथा जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सुजन के।सी।ले बताए । यस वर्षको प्रतियोगितामा धरानका १२ वटा वडाका टोलीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताको विजेताले नगद ९० हजार रुपैयाँसहित आकर्षक रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूका लागि ५० हजार रुपैयाँ तथा प्रतियोगिताभरका ‘प्लेयर अफ द म्याच’ खेलाडीका लागि ३० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष के।सी।ले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि आयोजकले १२ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
यसैबीच, तेस्रो संस्करणको तयारीमा जुटेको समाजले दोस्रो संस्करणको प्रतियोगिताको आय–व्यय विवरणसमेत सार्वजनिक गरेको छ । अध्यक्ष के.सी.का अनुसार अघिल्लो वर्षको ९४ हजार ६ सय ९६ रुपैयाँ बैंक मौज्दातसहित संस्थासँग कुल १४ लाख ७० हजार ५ सय १० रुपैयाँ उपलब्ध थियो ।
उक्त रकममध्ये दोस्रो महिला फुटबल प्रतियोगिता आयोजना तथा समापनका लागि ७ लाख ५ हजार ४ सय २६ रुपैयाँ खर्च भएको थियो । त्यस्तै, संस्थाका विभिन्न सामाजिक गतिविधि तथा अन्य कार्यक्रम सञ्चालनमा १ लाख ८ हजार २ सय १० रुपैयाँ र रक्तदान कार्यक्रमका लागि १३ हजार २ सय १० रुपैयाँ खर्च भएको अध्यक्ष के।सी।ले बताए ।
सबै खर्च कटाएर आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थाको बैंक खातामा ६ लाख ४३ हजार ६ सय ६४ रुपैयाँ मौज्दात रहेको उनले जानकारी दिए ।
महिला फुटबलको विकासलाई प्राथमिकता दिँदै आएको जनपथ जागरण समाजले सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
संस्थाले लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम, रक्तदान, विपन्न तथा न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग र आर्थिक रूपमा पछाडि परेका परिवारलाई राहत वितरणजस्ता सामाजिक कार्य गर्दै आएको जनाएको छ ।