धरान/ मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ का पूर्ण लावती लिम्बू रहेका छन् । लिम्बूलाई बिहीबार बिहान करिब ९ बजे भरुवा बन्दुकसहित पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार लिम्बूले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्रीवितरण गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको तयारी अवस्थामा रहेको एक थान भरुवा बन्दुक र एक थान दबासवाला बन्दुक बरामद गरिएको डीएसपी मिश्रले बताए ।
त्यस्तै, हतियार निर्माणमा प्रयोग हुने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले लिम्बूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।