युएन–नवोदय कलेजमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित

  • असोज १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन–नवोदय कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ।

बिहीबार धरान १५ मा रहेको चुमलुङ हिम कलेजले आयोजना गरेको ‘वेलकम एन्ड फेलिसिटेसन प्रोग्राम–२०८३’ मा कक्षा ११ का विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए।

कार्यक्रममा युएन–नवोदय कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले सभाध्यक्षता गरेका थिए भने धरान उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए।

युएन कलेजका क्याम्पस प्रमुख तथा नवोदय माविका प्रिन्सिपल डम्बरकुमार तुम्बापो र बिषेस अतिथिका रूपमा उपस्थित थिए।

प्रमुख अतिथि धुर्वराज खड्काले विद्यार्थी जीवनमा पढाइसँगै अनुशासन, सिर्जनशीलता र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताए।

उनले नयाँ शैक्षिक यात्रामा प्रवेश गरेका विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्दै निरन्तर मेहनत गर्न आग्रह गरे। ‘विद्यार्थीको सफलता केवल परीक्षाको अंकमा मात्र सीमित हुँदैन, उसले प्राप्त गर्ने ज्ञान, सीप र व्यवहारले भविष्य निर्माण गर्छ,’ खड्काले भने।

युएन कलेजका क्याम्पस प्रमुख तथा नवोदय माविका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले नयाँ विद्यार्थीलाई स्वागत गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए।

उनले कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको प्रतिभा र क्षमता प्रस्फुटन गराउन विभिन्न अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे।

‘हामी विद्यार्थीलाई केवल प्रमाणपत्र दिने शिक्षामा सीमित राख्न चाहँदैनौँ, उनीहरूको प्रतिभा पहिचान गरेर आत्मविश्वासी, अनुशासित र सक्षम बनाउन चाहन्छौँ,’ तुम्बापोले भने।

उनले विद्यार्थीलाई कलेजले उपलब्ध गराउने अवसरको सदुपयोग गर्दै आफ्नो प्रतिभालाई निरन्तर निखार्न आग्रह गरे।

कार्यक्रममा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई सम्बन्धित संकायका संयोजक तथा शिक्षकहरूले स्वागत गरेका थिए। साथै, बीएचएमका नवआगन्तुक विद्यार्थीलाई समेत विशेष स्वागत गरिएको थियो।

कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो।

अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक विजेता प्रमोद राई, एसईई स्पिच आइडल–२०२६ की विजेता सिम्रन गुरुङ, एसईई सिङ्गिङ आइडल–२०२६ की विजेता बाबी श्रेष्ठ, एसईई डान्सिङ आइडल–२०२६ की प्रथम उपविजेता महिमा लिम्बू, तेक्वान्दोकी स्वर्ण पदक विजेता युमी राई लगायत विद्यार्थीलाई सम्मान गरिएको थियो।

त्यस्तै, एसईई डान्सिङ आइडल–२०२६ की तेस्रो उपविजेता स्मारिका लिम्बू, स्कोन धरानद्वारा आयोजित वक्तृत्व प्रतियोगिताकी विजेता रेदिमा भुजेल तथा एसईई डान्सिङ आइडल–२०२६ को पब्लिक च्वाइस अवार्ड विजेता रुची लिम्बूलाई समेत सम्मान गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ।

विज्ञानतर्फ प्रशान्त श्रेष्ठ, कम्प्युटर व्यवस्थापनतर्फ रेशिका शर्मा, होटल म्यानेजमेन्टतर्फ सलिना राई र व्यवस्थापनतर्फ बेबिका चौधरीलाई सम्मान गरिएको कलेजले जनाएको छ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएचएमको ८औँ, ३औँ र १औँ सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो। ८औँ सेमेस्टरमा सन्ध्या थेगिमले ३.७२ जीपीएसहित धरान टपरको स्थान हासिल गरेकी छन्।

३औँ सेमेस्टरमा अलिश राईले ३.८४ जीपीएसहित धरान प्रथम तथा १औँ सेमेस्टरमा मनोज राईले ३.७७ जीपीएसहित सुनसरी जिल्ला टपरको उपलब्धि हासिल गरेका छन्।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

एसईई सिङ्गिङ आइडलकी विजेता खिना राना मगर, बाबी श्रेष्ठलगायतका विद्यार्थीले गीत प्रस्तुत गरेका थिए भने विभिन्न कक्षाका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि खड्का, कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख तुम्बापो लगायतले विद्यार्थीलाई शुभकामना दिएका थिए।

विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्दै कलेजले शिक्षासँगै विद्यार्थीको प्रतिभा र क्षमता विकासमा समेत जोड दिँदै आएको जनाएको छ।

दमकमा भारतीय नक्कली ...

दमक/ झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय ...

सुमोभित्र ५६४ किलो ग ...

 धरान/ सुनसरीको बर्जु गाउँपालिका–२ मा प ...

युएन नवोदय कलेजकी य ...

धरान/ मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न &lsq ...

धरानमा ट्रामोलसहित ३ ...

धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved