- रणध्वज लोहार
किरात धर्म, दर्शन र मुन्दुम्को अध्ययन तथा अनुसन्धानका लागि इलाममा ‘मुन्दुम् पाठशाला’ सञ्चालन हुँदैछ। यसै विषयमा कोशी पत्रले युएन नवाेदय कलेजका प्रिन्सिपल तथा फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका अध्यक्ष, माङ्गेन्ना माङ्हीम मुन्दुम् पाठशालाका संस्थापक डम्बर तुम्वापापोसँग गरेको विशेष संवादको अंश।
मुन्दुम् पाठशाला किन आवश्यक छ ? यसको उद्देश्य के हो र आगामी योजना कस्तो छ ?
पूर्वी नेपालको किरात–याक्थुङ समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार, संस्कृति र परम्परासँग जोडिएको मुन्धुमको खोज, अध्ययन तथा अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले इलामको चुलाचुलीमा मुन्धुम पाठशाला सञ्चालन हुने भएको छ।
चुलाचुली गाउँपालिका–१ स्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालामा यही मंसिर १० गतेदेखि मुन्धुम पाठशाला सञ्चालन गर्ने तयारी गरिएको हो।
आयोजकका अनुसार मुन्धुमका विभिन्न पक्षलाई व्यवस्थित रूपमा अध्ययन, अनुसन्धान, अभिलेखीकरण र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले पाठशाला सञ्चालन गर्न लागिएको हो।
मुन्धुम किरात–याक्थुङ समुदायको मौखिक परम्परा, ज्ञान, दर्शन, इतिहास, संस्कार, प्रकृति र सामाजिक जीवनसँग जोडिएको महत्वपूर्ण ज्ञानपरम्परा मानिन्छ। लामो समयसम्म मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको यस्तो ज्ञानलाई आधुनिक पुस्तासम्म व्यवस्थित रूपमा पुर्याउन पाठशालाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपालकै पहिलो हुने दाबी
आयोजक पक्षले चुलाचुलीमा स्थापना हुन लागेको यो मुन्धुम पाठशाला नेपालकै पहिलो हुन सक्ने दाबी गरेको छ। इलामको चुलाचुली–१ स्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशाला पनि याक्थुङ भाषा तथा संस्कृतिको संरक्षण र शिक्षाका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको छ ।
मुन्धुमलाई पुस्तान्तरण गर्ने लक्ष्य
मुन्धुम केवल धार्मिक अनुष्ठानसँग सम्बन्धित विषय मात्र नभई किरात समुदायको सामाजिक जीवन, प्रकृति, मानव सभ्यता, संस्कार, इतिहास, नैतिकता र जीवनदर्शनसँग जोडिएको मौखिक ज्ञानपरम्परा भएकाले यसको संरक्षण र अध्ययन आवश्यक रहेको आयोजक पक्षको भनाइ छ।
पाठशालामार्फत मुन्धुमका विभिन्न पक्षलाई विज्ञ, मुन्धुमविद्, अध्येता, गुरु तथा सम्बन्धित समुदायका जानकार व्यक्तिहरूमार्फत खोज तथा अध्ययन गर्ने योजना रहेको बताइएको छ।
विशेषगरी नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति, मौलिक इतिहास र पुख्र्यौली ज्ञानप्रति चासो बढाउने तथा लोप हुँदै गएका मौखिक परम्परालाई अभिलेखीकरण गर्ने कामलाई पाठशालाले प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको पृष्ठभूमि
चुलाचुली–१ मा रहेको फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशाला भाषा र संस्कृतिको संरक्षणका क्षेत्रमा स्थापित प्रयासका रूपमा अघि बढिरहेको छ।
सार्वजनिक विवरणअनुसार यस पाठशालाको भवन निर्माण तथा सञ्चालनमा स्थानीय समुदाय, दाता तथा अभियन्ताहरूको योगदान रहेको छ।
२०७२ सालमा पाठशालाको भवन निर्माण गरी वहुभाषिक पाठशाला उद्घाटन गरिएको र अव मंशीर १० गतदेखि भने मुन्धुम पाठशालाको शुरुवात गरिने भएको हो ।
पााठशालाको मूल उद्देश्य भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रचार–प्रसारसँग जोडिएको बताइएको छ। यही आधारमा अब मुन्धुमको खोज, अध्ययन र अनुसन्धानलाई समेत जोडेर अघि बढाउन खोजिएको आयोजकको रहेको छ ।
डम्बरकुमार तुम्बापोको पहललाई सवैको साथ सहयोग
मुन्धुम पाठशालाको अवधारणालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका डम्बरकुमार तुम्बापो फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका अध्यक्ष तथा माङ्गेन्ना माङ्हीम, इलामका संस्थापक अध्यक्ष हुन्।
तुम्बापो भन्छन्,“मुन्धुमलाई केवल धार्मिक विषयका रूपमा सीमित नराखी यसभित्र रहेको ज्ञान, दर्शन, इतिहास, संस्कार, प्रकृतिसँगको सम्बन्ध तथा सामाजिक जीवनका पक्षलाई खोज तथा अनुसन्धानको विषय बनाउन आवश्यक छ र ऋब नयाँ पुस्ताले आफ्ना पुर्खाबाट प्राप्त मौलिक ज्ञान र संस्कृतिलाई बुझ्न सकेमा भाषा तथा सांस्कृतिक पहिचानको संरक्षणमा थप बल पुग्नेछ।”
मंसिर १० गतेबाट नयाँ सुरुवात
मंसिर १० गतेबाट सुरु हुने भनिएको मुन्धुम पाठशालालाई आयोजक पक्षले मुन्धुमको खोज, अध्ययन, अनुसन्धान र पुस्तान्तरणको नयाँ सुरुवातका रूपमा लिएको छ।फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाले यसअघि भाषा तथा संस्कृतिको संरक्षणमा अघि बढाएको अभियानसँग मुन्धुम अध्ययनलाई जोडेर अघि बढाउने प्रयासले चुलाचुलीलाई याक्थुङ मौलिक ज्ञान र संस्कृतिको अध्ययनका लागि थप परिचित केन्द्र बनाउने सम्भावना देखिन्छ।
अबको मुख्य चुनौती भनेको पाठशालालाई निरन्तरता दिनु, अध्ययनका लागि प्रमाणमा आधारित सामग्री तयार गर्नु, मुन्धुमका मौखिक परम्परालाई सुरक्षित रूपमा अभिलेखीकरण गर्नु र नयाँ पुस्तालाई यससँग जोड्नु हुनेछ ।
तुम्बापो भन्छन्,“मुन्धुमलाई सुन्ने र सुनाउने परम्पराबाट खोज्ने, अध्ययन गर्ने र अभिलेख गर्ने चरणमा लैजानुपर्छ” ।
