धरान/ मोरङको कटहरीमा ट्याक्टर दुर्घटनामा परेर काठको थुप्रो र ट्याक्टरमुनि च्यापिएका चालकले दुई घण्टाभन्दा बढी जीवनका लागि संघर्ष गर्नुपरेको छ ।
तर, लामो प्रयासपछि उनलाई बाहिर निकाल्दा ज्यान गइसकेको थियो ।
शुक्रबार दिउँसो कटहरी गाउँपालिका–६ सनिहाटस्थित भित्री सडकमा गोलिया काठ बोकेको ट्याक्टर पल्टिँदा धनपालथान गाउँपालिका–१ का ५५ वर्षीय सदानन्द साहको मृत्यु भएको हो ।
थलाहाबाट नयाँ बजारतर्फ जाँदै गरेको को २ त ५७९६ नम्बरको ट्याक्टर दिउँसो करिब ३ः१० बजे सडकमा पल्टिएको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । ट्याक्टरमा गोलिया काठ लोड गरिएको थियो ।
स्थानीयका अनुसार सडक हिलाम्मे अवस्थामा थियो । नहर कटाउने क्रममा ट्याक्टर पल्टिएको उनीहरूको भनाइ छ । ट्याक्टर पल्टिएपछि चालक साह बाहिर निस्कन खोज्दा त्यही ट्याक्टरमा लोड गरिएका काठले उनलाई थिचेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि साह ट्याक्टर र काठको भारमुनि च्यापिए । उनलाई निकाल्न स्थानीय र सुरक्षाकर्मीले तत्काल प्रयास थाले पनि काठका गोलिया पन्छाएर ट्याक्टर उठाउन सहज भएन । उद्धारका लागि लामो समय प्रयास गर्दा पनि उनलाई बाहिर निकाल्न सकिएन ।
प्रत्यक्षदर्शीका अनुसार साह दुई घण्टाभन्दा बढी समय ट्याक्टरमुनि छटपटाइरहेका थिए । घटनास्थलमा रहेका स्थानीयले समेत लामो समयसम्म उद्धार हुन नसकेको अवस्था देखेका थिए ।
दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी थलाहाबाट असई सञ्जयकुमार चौधरी र प्रहरी चौकी कटहरीबाट सई अशोक कार्कीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर बद्री दाहालको कमान्डमा थप प्रहरी टोलीसमेत खटिएको थियो ।
प्रहरी र स्थानीयको प्रयासमा साँझ ५ः२० बजेतिर ट्याक्टर र काठ पन्छाएर साहलाई बाहिर निकालिएको थियो । तर, त्यतिबेलासम्म उनको मृत्यु भइसकेको इन्स्पेक्टर न्यौपानेले बताए ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी साहको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।