झापा/असार लागेपछि धान रोपाइँको चटारो सुरु हुन्छ। रोपाइँलाई उत्सवका रूपमा मनाउने भन्दै जनप्रतिनिधिदेखि मन्त्रीसम्म खेतमा पुग्ने गर्छन्।
वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, शिक्षक तथा विद्यार्थीको लावालस्करसहित हिलोमा धान रोप्दै तस्बिर खिचाउने र सामाजिक सञ्जालमा राख्ने होड नै चल्छ।
तर केही महिनापछि जब किसानको पसिनाले फलाएको धान काट्ने, झाँट्ने र भित्र्याउने बेला आउँछ, त्यस्तो तामझाम भने खासै देखिँदैन।
न जनप्रतिनिधिको लावालस्कर देखिन्छ, न रोपाइँकै जस्तो उत्सवको रौनक। आखिर धान रोप्दा देखिने उत्साह धान काट्ने र भित्र्याउने बेला किन हराउँछ ?
किसानका लागि रोपाइँ जति महत्त्वपूर्ण छ, धान काट्ने र भित्र्याउने समय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। वर्षभरको मेहनत र लगानीको प्रतिफल घर भित्र्याउने यही समय हो।
तर धान रोपाइँमा देखिने सार्वजनिक उत्साह र सहभागिता बाली भित्र्याउने समयमा किन देखिँदैन भन्ने प्रश्न भने विचारणीय छ।
झापाको मेचीनगर नगरपालिका–१२ मा एक कृषक धान काट्दै गरेको दृश्यले अहिलेको खेतीपातीको वास्तविकता झल्काउँछ। खेतमा किसान आफ्नो मेहनतको फल भित्र्याउन व्यस्त छन्, तर रोपाइँको बेला देखिने उत्सवको माहोल भने यहाँ देखिँदैन।
किसानको पसिना र मेहनतलाई सम्मान गर्ने हो भने धान रोप्ने दिन मात्रै होइन, धान काट्ने र भित्र्याउने बेलालाई पनि उत्तिकै महत्त्व दिनु आवश्यक छ।
तपाईंलाई के लाग्छ, रोपाइँमा जस्तै धान काट्ने बेला पनि जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा उत्सव मनाउनुपर्छ कि पर्दैन ? आफ्नो विचार राख्नुहोला।