धरान/ सुनसरीको धरान–१६ लेखनाथ चोकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले साेमबार राति करिब १० बजे धरान–१६ स्थित एक कोठामा खानतलासी गरेको थियो। उक्त कोठा धरान–१ का २४ वर्षीय कबिर सहनीले भाडामा लिएर बस्दै आएका थिए।
खानतलासीका क्रममा प्रहरीले ब्राउन सुगर १.९१ ग्राम, ट्रामोल ६६० क्याप्सुल, डिकोलिक ६० ट्याब्लेट, डिसासईकोलिक ३६० ट्याब्लेट र स्पासपेन १२४ ट्याब्लेट बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सहनीसँगै धरान–१४ विजयपुरका ३५ वर्षीय सुनिल दाहाल र धरान–१३ सुम्निमा चोकका ३१ वर्षीय सुचम्वर राईलाई समेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।