धरान/ सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य कार्यक्रमबीच स्वागत गरिएको छ ।
धरान–१५ स्थित चुम्लुङ हिममा शुक्रबार आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीले गीत, नृत्यलगायत विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिँदै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्यका २२ वटा प्रस्तुति दिएका थिए ।
कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले पानसमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । उनले विद्यार्थीले कक्षाकोठाको पढाइसँगै अतिरिक्त क्रियाकलाप र जीवनमा उपयोगी हुने सीपलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
स्वागत समारोहमा हाजिरीजवाफ प्रतियोगितासहित विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षकका रूपमा प्रमोद श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कलेजका अध्यक्ष राजेश विद्रोहीले अनुभवी शिक्षकमार्फत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएपछि कलेजप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढिरहेको उनको भनाइ थियो ।
उनले विद्यार्थीलाई अनुशासनमा रहेर अध्ययनसँगै आवश्यक ज्ञान र सीप हासिल गर्न आग्रह गर्दै कलेजले उनीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा सहजीकरण गर्ने बताए ।
कार्यक्रममा विद्यार्थीका तर्फबाट स्वर्णिम थापा मगरले स्वागत मन्तव्य राखेका थिए । आगन्तुक तथा अभिभावकलाई कलेजका प्रधानाध्यापक दीपक घिमिरेले स्वागत गरेका थिए ।
कलेजका अनुसार यस वर्ष कक्षा ११ मा ५७० जना विद्यार्थी भर्ना भएका छन् । कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, होटल म्यानेजमेन्ट, कम्प्युटर म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा अध्यापन हुँदै आएको एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए ।