धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोलबाट लागूऔषध ब्राउन सुगर सहित धरानका दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार साेमबार साँझ ५ः३० बजे लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को ३१ प ८८८५ नम्बरको स्कुटीलाई शंका लागेर प्रहरीले रोकेर जाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले स्कुटी चालक धरान उपमहानगरपालिका–१७ का २७ वर्षीय हेम राई र पछाडि सवार सोही ठाउँका ४४ वर्षीय जयबहादुर खड्गीलाई खानतलासी गर्दा ब्राउन सुगर १ ग्राम ३८० मिलिग्राम फेला पारेको हो।
प्रहरीले उनीहरूलाई उक्त पदार्थ र स्कुटीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।