इनरुवा/ कोशी गाउँपालिका–३ का ७८ वर्षीय छेवीलाल उराँव घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संस्कृतिसँग जोडिएको पौराणिक तथा सयौँ वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो ।
ट्युबेल (कल) र मोटरको पानी आउन थाले पनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका संस्थापन अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनारवरिपरि सरसफाइ गर्ने, बिहेबारीमा इनारको पानीको उपयोग गर्ने काममा लाग्नुभएको छ । उहाँले आफ्नो घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुको मुख्य कारण संस्कृति संरक्षण र नयाँ पुस्तालाई इतिहास देखाउनु पनि रहेको बताउनुभएको छ ।
स्थानीय समाजसेवी बिर्सुलाल उराँवले तीन दशकअघिसम्म गाउँमा देखिने इनार यतिबेला देख्न मुस्किल भएकाले सुनसरीको कोशी गाउँपालिकाका स्थानीय लोपोन्मुख अवस्थामा पुगेको गाउँका पुराना इनार संरक्षणमा जुटेको बताउनुभयो । उहाँले साबिक पश्चिम कुशाहामा ५० भन्दा बढी इनार रहेकोमा अहिले आधुनिक प्रविधिको विकाससँगै घर घरमा ट्युबेल ९चापाकल० र धाराको पहुँच बढेपछि इनार लोप भएकाले एउटा इनारको संरक्षण थालेको बताउनुभयो । दर्जनौँ इनार लोप भएको अवस्था र बर्सौंदेखि बेवास्तामा परेका सार्वजनिक इनारलाई बचाउन स्थानीयले स्वस्फूर्त अभियान सुरु गरेकोमा एउटा मात्रै इनार सुरक्षित भेटिएको बताउनुभयो ।
कोशी–३, पश्चिम कुशाहाका धर्मबेलस कुम्बा मन्दिरपरिसरमा रहेका दशकौँ पुराना इनारको सरसफाइ गर्दै पानीको उपयोग गर्न थालेको स्थानीय बबिता उराँवले बताउनुभयो । गाउँमा ४५ परिवार उराँव रहेकोमा कयौँ इनार सरसफाइ अभाव, ढल निकास र अतिव्रmमणका कारण सुक्दै र पुरिँदै गएकोमा एउटालाई भए पनि स्थानीय उराँव समुदायले ती पुराना जलस्रोतलाई जोगाउन इनारको सरसफाइ, पुनरुत्थान तथा मर्मतसम्भारको काम गरेको बताउनुभयो ।
अर्का स्थानीय शिवु उराँवले गाउँमा इनार संरक्षण अभियानमा आफूहरू लागेको बताउनुभयो । उहाँले इनारभित्र जमेको लेदो, फोहोर र पुराना पातपतिङ्गर हटाई भित्री भागको पुनरुत्थान गरिएको र इनारमा फोहोर खस्न नदिन सुरक्षा पर्खाल ९रिङ० निर्माण गर्ने काम भएको जानकारी दिनुभयो । उराँव समुदायमा विवाहका बेला बेहुलाबेहुलीलाई इनारको पानी अनिवार्य भएकाले इनार संरक्षण गरेको उराँवले बताउनुभयो । उहाँले गाउँ गाउँमा युवापुस्तालाई इनार संरक्षणबारे सचेतना अभिवृद्धि गर्दै पानीका परम्परागत मुहान जोगाउन समुदायस्तरमा छलफल र जनसचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
स्थानीय फूलकुमारी उराँवका अनुसार धारा, ट्युबेलको पानी सुक्दा पनि इनारमा पानीको सतह कायमै रहने भएकाले सङ्कटको समयमा यो सबैभन्दा भरपर्दो माध्यम भएकाले समेत संरक्षणमा लागिएको हो । उहाँले धार्मिक कार्य, उराँव समुदायको जन्म, विवाह, मृत्यु कर्म, सामाजिक भेला, भोजभतेर र विपत्का बेला पानीको आवश्यकता पूरा गर्न पनि इनारको विशेष महत्त्व रहेको बताउनुभयो ।
स्थानीयवासीको यस सराहनीय कदमलाई साथ दिँदै कोशी ३ नम्बर वडा कार्यालयले पनि आगामी दिनमा यस्ता परम्परागत मुहानको संरक्षण र व्यवस्थापनका लागि बजेट तथा योजनामा प्राथमिकता दिने वडाध्यक्ष सुलेमान मन्सुरीले बताउनुभयो । मन्सुरीले इतिहास बोकेको इनार संरक्षणमा वडाले सहयोग गर्ने बताउनुभयो ।
- गोरखापत्र अनलाइन