विराटनगर/ विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ।
विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो।
सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमा राखेर पठाएका थिए।
तर, अस्पताल लैजानुपर्ने घाइते बस्नेतलाई चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। समयपछि मालपोत कार्यालयनजिकै बस्नेत मृत अवस्थामा भेटिएका थिए।
आइतबार बिहान करिब ६ः३० बजे मालपोत कार्यालयनजिकै एक वृद्ध पुरुष मृत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
सुरुमा मृतक वृद्धको पहिचान हुन सकेको थिएन। पछि विराटनगर–८ का माधव बस्नेतले मृतक आफ्ना बुवा तीर्थराज बस्नेत रहेको भन्दै सनाखत गरेका थिए।
एसपी कटवालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका वृद्धलाई अस्पताल पुर्याएर उपचार गराउनुको सट्टा सडकमा छाडेर चालक फरार भएको घटना अमानवीय देखिएको छ।
‘अस्पताल लगेर भर्ना गरेको भए वृद्धको ज्यान बच्ने थियो । तर, सडकको किनारमा फालेर चालक फरार भएछन् । पछि मृत्यु भएको अवस्थामा वृद्धको शव भेटियो,’ एसपी कटवालले भने।
दुर्घटनापछि सिटी सफारीसहित फरार भएका चालकको प्रहरीले खोजी तीव्र पारेको थियो। खोजीका क्रममा आइतबार बिहान करिब ८ः३० बजे मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगतलाई प्रहरीले पक्राउ गरेको एसपी कटवालले बताए।
पक्राउ परेका भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाबारे सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक बस्नेतको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ।