धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका–३ का रमेन्द्र पौडेल रहेका छन् । चेक अनादर मुद्दामा अदालतले २०८१ फागुन १७ गते गरेको फैसलाअनुसार उनीबाट पाँच सय रुपैयाँ जरिवाना असुल हुन बाँकी थियो ।
त्यस्तै, धरान उपमहानगरपालिका–५ की मनिका लिम्बु अभद्र व्यवहार मुद्दामा दोषी ठहर भएकी थिइन् । अदालतको २०८० चैत २१ गतेको फैसलाअनुसार उनलाई एक दिन कैद सजाय तोकिएको थियो ।
बराहक्षेत्र नगरपालिका–११ का चन्द्र उराँव र मनोज उराँव कुटपिट मुद्दामा दोषी ठहर भएका थिए । उनीहरूलाई अदालतले २०५७ वैशाख ४ गते जनही एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
यस्तै, धरान उपमहानगरपालिका–१४ का अमित राई लागूऔषध मुद्दामा दोषी ठहर भएका थिए । अदालतको २०६८ चैत २२ गतेको फैसलाअनुसार उनीबाट एक हजार दुई सय ७५ रुपैयाँ जरिवाना असुल हुन बाँकी थियो ।
प्रहरीका अनुसार अदालतबाट फैसला भइसकेपछि पनि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउलाई निरन्तरता दिइएको छ ।
पक्राउ परेका सबैलाई सम्बन्धित अदालतमा बुझाई फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।