पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाबुको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोज्ने आमाछोरा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ आहाले निवासी ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।
४८ वर्षीय इन्द्रकुमार दमाई भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवको अवस्था र घटनास्थलको प्रकृति शंकास्पद देखेपछि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताए।
उनका अनुसार दमाईको घाँटीमा कपडाको सलको पासो लगाइएको थियो भने निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको थियो। प्रारम्भिक अनुसन्धानबाट दमाईको मृत्यु आत्महत्याबाट नभई हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको कर्णले बताए।
अनुसन्धानका क्रममा पक्राउ परेका आमाछोराले दमाईलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि शवलाई घरनजिकैको आल्चाको रुखमा झुन्ड्याइएको र त्यसपछि त्यहाँबाट करिब पाँच सय मिटर तल भिरपाखामा लगेर फालिएको उनीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको बन्चरोसहित केही हतियारसमेत प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार मृतकको काजकिरिया भदौ २३ गते सकिएको थियो। अनुसन्धानका क्रममा भदौ २४ गते घटनाबारे थप तथ्य खुलेपछि उनकी श्रीमती र छोरालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कर्णले बताए।
पक्राउ परेका दुवै जनालाई भदौ २५ गते पाँचथर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
- लक्ष्मी गौतम पाँचथर