-हिराराज राई ।
धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत हर्दिया, दिलुङटार, सालुम र सानोसफाइ क्षेत्रको संगमस्थलमा रहेको लेम्लेमा झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि संरक्षण र प्रवर्द्धनको आवश्यकता रहेको स्थानीयहरूले बताएका छन्।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको झरना, हरियाली वातावरण र शान्त परिवेशले पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना बोकेको भएता पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणको अभावमा अझै ओझेलमा परेको स्थानीयहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार लेम्लेमा झरनालाई व्यवस्थित रूपमा विकास गर्न सकेमा यसले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गर्न सक्छ।
झरनासम्म पुग्ने बाटो, विश्रामस्थल, सूचना बोर्ड र अन्य आधारभूत संरचना निर्माण गर्न सके राम्रो पर्यटकीयस्थल बन्ने सम्भावना देखिन्छ।
साँगुरीगढी गाउँपालिकाको पर्यटन सम्भावनालाई उजागर गर्न लेम्लेमा झरनाको संरक्षण, प्रचारप्रसार र पूर्वाधार निर्माणमा स्थानीय सरकार तथा सरोकारवाला निकायले पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।