धरान/ सुनसरीको धरान–११ स्वास्तिका चोकस्थित एक घरमा ताला फोडेर सुनचाँदीका गहना र नगद चोरी गर्ने आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
घटनामा संलग्न रहेको अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार बिहान करिब ३ बजेदेखि ४ बजेको बीचमा राजु साहको घरको माथिल्लो तलामा रहेको उनका भाइ पप्पु साहको कोठाको ताला फोडेर चोरी गरिएको थियो।
पप्पु र उनको परिवार घरमा नभएको मौका पारेर चार जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक विनालाल साहको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाउनुका साथै छिमेकीसँग सोधपुछ र सिसिटिभी फुटेजको अध्ययन गरेको थियो।
फुटेजमा घर वरपर एक युवती र तीन युवक शंकास्पद गतिविधिमा देखिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो।
अनुसन्धान सुरु गरेको करिब चार घण्टामै प्रहरीले धरान–३ का २३ वर्षीय सुमित बराइली, उनकी २१ वर्षीया श्रीमती सम्झना बराइली र धरान–९ का १६ वर्षीय मनिष विकलाई पक्राउ गरेको हो।
घटनामा संलग्न रहेको अर्का एक जना भने फरार रहेको र उनको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए।
प्रहरीका अनुसार प्रारम्भिक सूचनाअनुसार घरबाट करिब १० तोला सुनचाँदीका गहना र चार लाख रुपैयाँ नगद चोरी भएको थियो। पक्राउ परेकाहरूको साथबाट करिब ६–७ तोला सुनचाँदीका गहना बरामद भएको छ भने तौल यकिन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्रीमा नगद ४४ हजार ४६३ रुपैयाँ, तीन जोर चाँदीका पाउजु, पाँच थान बिछुवा, एक जोर बाला, एक जोर पञ्जा, तीन प्याकेट चाँदीका बुनिया तथा सुनका न्याक्लेस, लकेटसहितको सिक्री, मंगलसूत्र, झुम्का, टप, ठोसा, औँठी र सुनको सिक्का रहेका छन्।
पक्राउ परेकाहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको संलग्नता धरानमा भएका अन्य चोरीका घटनामा पनि रहे–नरहेको विषयमा अनुसन्धान भइरहेको डीएसपी राईले बताए।
फरार रहेका एक जना भारततर्फ भागेको आशंका गरिएको भए पनि उनलाई चाँडै पक्राउ गर्ने विश्वास प्रहरीले व्यक्त गरेको छ।