धरान/ सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावको सन्देश प्रवाह गर्दै सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार धरानमा भव्य सामाजिक सद्भाव र्याली सम्पन्न भएको छ।
‘सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गरौं’ भन्ने नारासहित आयोजित र्याली भानुचोकबाट सुरु भई छाताचोक, सिंहदेवी चोक, माछाभौडी हुँदै पुनः भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
विभिन्न जाति, भाषा, धर्म र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताले र्यालीले धरानको सामाजिक एकताको सन्देश झनै बलियो बनाएको थियो।
कोणसभालाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले धरान विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा थलो भएको उल्लेख गर्दै एउटै आँगनमा हिन्दू, मुस्लिम, किराँत, बौद्ध र क्रिश्चियन समुदाय मिलेर बसेको उदाहरण देशभर फैलाउनुपर्ने बताए।
उनले समाजमा विभाजनकारी सोच र असहिष्णुता फैलाउने प्रयासप्रति सबै सचेत रहनुपर्नेमा जोड दिँदै पारस्परिक सम्मान, सहअस्तित्व र सामाजिक एकता नै धरानको वास्तविक पहिचान भएको स्पष्ट पारे।
बेघाले धरानलाई पहाड, तराई र मधेशलाई जोड्ने सांस्कृतिक सेतुका रूपमा चित्रण गर्दै सबै जातजाति, भाषा, धर्म र सांस्कृतिक परम्पराको सम्मान गर्दै अघि बढे मात्र समृद्ध र सभ्य समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरे।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले र्याली सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जातजाति, धर्म, समुदाय तथा सहभागीप्रति आभार व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षको निरन्तर सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताए।