धरान/ धरानमा एक युवामाथि खुकुरी प्रहार गरी फरार भएका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने मुख्य आरोपी अझै फरार रहेका छन्।
धरान–५ झरना चोकका २० वर्षीय निलकमल राईमाथि खुकुरी प्रहार गरी फरार भएका धरान–५ का ३६ वर्षीय सुदीप राई, २६ वर्षीय सुजन परियार र २२ वर्षीय ससेस साहलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरू स्थानीय एक टहरामा लुकिरहेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए।
डीएसपी राईका अनुसार (हिजो)आईतवार बिहान जंगलमा लुकेको सूचना पाए पनि दिउँसो उनीहरू टहरामा सामूहिक रूपमा बसेको अवस्थामा फेला परेपछि पक्राउ गर्न सफल भएको हो।
घटनामा संलग्न धरान–५ का २३ वर्षीय जोनसेना (यकिन नाम नखुलेको), २० वर्षीय सुमन लिम्बू, १८ वर्षीय हनक राई तथा धरान–५ दशघरेका २४ वर्षीय किरण राई भने अझै फरार छन्। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
खुकुरी प्रहारबाट निलकमल राईको ढाडमा गम्भीर चोट लागेको छ। उनको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइवीका कारण घटना भएको हुन सक्ने देखिएको छ। फरार आरोपीहरूको खोजी र घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।