धरान/ धरान–१३ स्थित भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय (पीपीओ) को प्राङ्गणमा मंगलबार साँझ भारतको चर्चित शास्त्रीय नृत्य ‘कथाकली’ प्रस्तुत गरिएको छ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास काठमाडौंको आयोजनामा भएको कार्यक्रममा दुवै देशका राष्ट्रिय गानपछि विशेष अतिथि कोशी प्रदेश सभा सदस्य विजयकुमार राई र रमेशकुमार बस्नेतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए।
भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक अधिकारी मेजर शम्मि सुवर्णले स्वागत मन्तव्य राख्दै कला, संस्कृति र अध्यात्म मानवतालाई जोड्ने पुल भएको उल्लेख गर्दै सहभागी अतिथिहरुलाई धन्यवाद व्यक्त गरे।
केरल राज्यबाट उद्गम भएको ३०० वर्ष पुरानो इतिहास बोकेको कथाकली नृत्य रंगीन पोशाक, आकर्षक अनुहार मेकअप, सांकेतिक हातका मुद्रा र लयबद्ध चालसहित प्रस्तुत गरिएको थियो। महाभारत, रामायणलगायतका महाकाव्यका कथाहरुलाई शब्द र भाषाभन्दा पर गएर दर्शकसमक्ष पु¥याउने गहिरो माध्यमका रूपमा यसलाई प्रस्तुत गरिएको थियो।
कार्यक्रममा श्री एन. रामनकट्टी र उनकी प्रतिभाशाली टोलीले प्रस्तुत गरेको मनमोहक कथाकली नृत्यलाई धरानका दर्शकले निकै रुचाएका थिए।