एमाले धरानले आफ्नै वडाध्यक्षलाई हटाउने सिफारिस, ‘साम्पाङ समर्थक’ धनबहादुर राई विवादमा

  • असार २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षविरुद्ध कडा कदम चालेको छ।

वडानं. ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट हटाउने सिफारिस गर्दै पार्टीले औपचारिक रूपमा जिल्ला कमिटीमा कारबाही प्रक्रिया अघि बढाएको छ।

पार्टी अनुशासन उल्लङ्घन गरेको, नेताविरुद्ध सार्वजनिक रूपमा धारणा राखेको र संगठनसँग सम्पर्कविहीन भएको आरोपमा राईमाथि कारबाहीको सिफारिस गरिएको हो।

एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार वडा कमिटीबाट आएको सिफारिसलाई उपमहानगर कमिटीले सदर गर्दै जेठ २५ गतेकै निर्णयका आधारमा जिल्लामा पठाइएको हो।

“पार्टीसँग समन्वय छैन, कार्यक्रममा आउँदैनन्, उल्टै नेतृत्वविरुद्ध बोलिरहन्छन्,” अध्यक्ष एभेङले भने, “स्पष्टीकरण माग्दा पनि बेवास्ता गरेपछि अन्ततः कारबाही सिफारिस गर्न बाध्य भयौं।”

साम्पाङ समर्थक भएरै विवादमा?

वडाध्यक्ष राई धरानका मेयर हर्कराज राई (साम्पाङ) को श्रमदान अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। एमालेकै तर्फबाट निर्वाचित भए पनि उनी पार्टी भन्दा साम्पाङका नजिक देखिन्छन्।

पार्टीका कतिपय निर्णय र नेताहरूको आलोचना गर्दै आएका राईलाई एमालेभित्र ‘अलग लाइन’ लिने नेताका रूपमा हेरिँदै आएको छ।

उनको यही क्रियाकलापले पार्टीलाई असहज बनाउँदै लगेपछि एमालेले लेखीपढी कारबाही प्रक्रिया अघि बढाएको हो।

निर्वाचन आयोगसम्म पुग्ने सम्भावना

राई हाल एमालेका संगठित सदस्य मात्र रहेका छन्। जिल्ला कमिटीमार्फत प्रदेश हुँदै केन्द्रीय कमिटीले निर्णय गरेमा निर्वाचन आयोगमा औपचारिक पत्राचार गरेर उनलाई पदबाट हटाउन सकिने प्रक्रिया पार्टीले संकेत गरेको छ।

जिल्ला कमिटीले भने राईलाई एकपटक व्यक्तिगत रूपमा छलफलका लागि बोलाउने र त्यसपछि मात्रै अन्तिम निर्णय लिने तयारी गरेको छ।

“जिल्लाले बोलाएर अन्तिमपटक बुझ्ने भनिएको छ। उहाँको प्रस्तुतीमा भर पर्छ,” अध्यक्ष एभेङले बताए।

वडाध्यक्ष राईको प्रतिक्रिया

कारबाही सिफारिसको विषयमा प्रतिक्रिया दिँदै वडाध्यक्ष धनबहादुर राईले अहिलेसम्म कुनै आधिकारिक जानकारी नपाएको बताएका छन्।

“हल्ला त सुनेको छु तर आधिकारिक रूपमा कसैले केही भनेको छैन,” उनले छोटो प्रतिक्रिया दिए।

साम्पाङसँगको सहकार्य, पार्टीपंक्तिको अवज्ञा र नेतृत्वविरुद्धको अभिव्यक्तिले राई पार्टीभित्रैको ‘बिद्रोही अनुहार’ बनेका छन्। अबको कदमले उनको राजनीतिक भविष्य कुन दिशामा मोडिने हो, त्यो हेर्न बाँकी छ।

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

तस्कर र सशस्त्र प्रह ...

जनकपुरधाम/धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved