काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार(आज) साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आज पहिलो चरणको बोर्ड बैठक सम्पन्न भइसकेको जानकारी दिँदै अर्को बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने र त्यसपछि साँझ साढे ५ बजे नतिजा प्रकाशित गरिने जानकारी दिए ।
‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’, शर्माले भने ।
चैत ७ गतेदेखि सञ्चालित एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा प्रकाशित भएसँगै विद्यार्थीहरुले विभिन्न वेबसाइट, एसएमएस तथा मोबाइल एपमार्फत नतिजा हेर्न सक्ने परीक्षा बोर्डले जनाएको छ ।