धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र नगर सभा गरिसक्नु पर्ने र असार मसान्त सम्म प्रमाणित गरिसक्नु पर्ने हुन्छ । तर धरानमा अझै पनि निति तथा कार्यक्रम र बजेट आउन सकेको छैन् ।
करिब डेढ महिना पछि धरान उपमहानगरपालिकाको आइतबारको कार्यपालिका बैठक मुख्य एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ ।
एजेण्डामा प्रवेश गर्नु अघि केही एजेण्डाहरु थप गर्नु पर्ने र हटाउनु पर्ने विषय वडाअध्यक्ष सहित कार्यापालिका सदस्यले उठाए पछि विविध विषयमा उठाउनु पर्ने एजेण्डाहरु पनि छलफलमा आए पछि विवाद बढुदै गएका कारण अन्ततः धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्र विक्रम वेघाले बैठक स्थगित गरेको घोषणा गरेका थिए । अब अर्को बैठक आज सोमबार बिहान ७ बजे पुनः बस्नेछ ।
कार्यवाहक प्रमुख बेघाका अनुसार बैठकमा निर्धारित एजेण्डामा प्रवेश गर्नुअघि नै केही कार्यपालिका सदस्यले विविध विषय उठाउँदै लामो छलफल गर्न खोजेपछि बैठक स्थगित गरिएको हो ।
बैठकमा कार्यपालिका सदस्यहरूले विभिन्न विषयमा प्रश्न गरेका थिए ।
बैठकमा नेपाली कांग्रेसका १८ नम्बर वडाका अध्यक्ष प्रविण राईले योजना ईन्जिनियरिङ महाशाखाका प्रमुख सुरज श्रेष्ठले योजनाका विषयमा गैह्र जिम्मेवारी जवाफ दिएको भन्दै बैठक बस्नु अघि नै स्पष्टिकरण दिन माग गरेका थिए ।
त्यसै गरि नेकपा एमालेका १५ नम्बरका वडाअध्यक्ष नरेश इवारमले शिक्षक दरबन्दीको एजेण्डा समावेश गर्न माग गरेका थिए भने कार्यपालिका सदस्य दिनेश विश्वकर्माले विजयपुर क्षेत्र लगायत कामकाजी भाषाको रुपमा लागु गर्ने एजेण्डा सम्बन्धित निकाय सँग अझै वृहत छलफल गरे पछि मात्रै ल्याउनु पर्ने भन्दै खारेजीको माग गरेका थिए ।
त्यस पछि अन्य कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले आ–आफ्ना वडामा भएका समस्याहरु राखेका थिए ।
कार्यपालिका बैठकमा स्रोत निर्धारण समितिले तयार गरेको आर्थिक वर्ष २०८३/०८४ का लागि करिब २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव पेश गर्ने तयारी गरिएको थियो । आर्थिक वर्ष २०८३/८४ मा घाटा बजेट ल्याउन लागेको भन्दै केही वडाअध्यक्ष र कार्यापालिका सदस्यहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
आम्दानीको स्रोत यकिन नभई बजेट बनाउँदै कार्यान्यवनमा समस्या हुने जनाउँदै घाटा बजेट नबनाउन उनीहरुको आग्रह छ ।
यता कार्यवाहक मेयर वेघा भने ८४ को चुनावी बजेट बनाउन लागेको एक कार्यपालिका सदस्य बताउँछन् । आफुलाई पायक पर्ने बजेट बनाएर चुनावी माहौल बनाउन खाजेको उनको आरोप छ ।
बैठक स्थगितपछि सञ्चारकर्मीसँग कुरा गर्दै बेघाले भने,‘पटक–पटकको छलफलपछि बसेको कार्यपालिका बैठकलाई तुहाउने योजनाका साथ अवरोध गरियो ।’
कार्यवाहक प्रमुखलाई असफल बनाउनुपर्छ भन्ने उद्देश्यका साथ आफूलाई अवरोध गरिएको उनले बताए । उनले भने ‘योजनाबद्ध रूपमा बैठक अवरुद्ध गरिएकाले बैठक स्थगित गर्न बाध्य भएँ ।’
कार्यपालिका बैठकमा प्रस्तुत हुने विषयवस्तु र प्रश्नहरू गम्भीर, तथ्यमा आधारित तथा सकारात्मक परिणाम दिने खालका हुनुपर्ने उनको भनाई छ । तर त्यसो भइरहेको छैन ।
कार्यपालिकालाई नगरको नीति, योजना र बजेट निर्माण गर्ने महत्वपूर्ण निर्णय गर्ने थलो भएकाले छलफल पनि जिम्मेवार र परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए ।
नगरपालिकाका निर्णय र काम प्रभावकारी बनाउन सबै पक्षले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नगरको समग्र विकासका लागि सामूहिक रूपमा अघि बढ्नुपर्ने उनले वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूसँग आग्रह गरेका छन् ।
कार्यपालिका बैठक स्थगित भएसँगै नगर सभामा बजेट पेश गर्ने कार्य तालिकामा समेत असर पर्ने देखिएको छ ।