धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
सोमबार सम्पन्न नगरपालिकाको १६औं नगरसभामा उपप्रमुख नन्दकुमारी सुनुवारले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सीमान्तकृत समुदाय र महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन्।
उनका अनुसार संघीय, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समेटिएको बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ।
बजेटको मुख्य स्रोत र अनुमान
नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ उठाउने अनुमान गरेको छ।
संघीय सशर्त अनुदानबाट ४७ करोड १ लाख, समपूरक अनुदानबाट ३ करोड ४१ लाख, विशेष अनुदानबाट ७५ लाख, वित्तीय समानीकरण अनुदानबाट १९ करोड ३४ लाख, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ प्राप्त हुने छ।
प्रदेश सरकारतर्फबाट प्रदेश सशर्त अनुदान अन्तर्गत २ करोड ३० लाख ५६ हजार, समपूरक अनुदानबाट १ करोड, वित्तीय समानीकरण अनुदानबाट १ करोड ८२ लाख ५० हजार र प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।
खर्च विनियोजन
आगामी वर्षका लागि नगरपालिकाले चालु खर्चतर्फ १५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ। वडा कार्यालयहरूका लागि ८ करोड ८० लाख र पुँजीगत बजेटतर्फ २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, संघीय सशर्त अनुदानबाट ४७ करोड १ लाख, प्रदेश सशर्त अनुदानबाट २ करोड ३० लाख ५६ हजार, संघीय समपूरक अनुदानबाट ३ करोड ४१ लाख, प्रदेश समपूरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट ७५ लाख रुपैयाँ विनियोजन गरिनेछ।
उपप्रमुख सुनुवारका अनुसार सीमान्तकृत र पछाडि पारिएका समुदायहरू, विशेष गरी महिलाहरूका लागि आयआर्जन र सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ।