दुहबी/ सुनसरीको दुहबीसहित तराई–मधेसका विभिन्न जिल्लाहरूमा वैवाहिक महिलाहरूले आज बट सावित्री व्रत श्रद्धा र भक्ति भावसहित मनाइरहेका छन्। आफ्ना पतिको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै हिन्दू नारीहरूले यो व्रत विधिपूर्वक सम्पन्न गर्दै आएका छन्।
ज्येष्ठ औंशीका दिन मनाइने यो व्रत विशेषगरी बट (बर) वृक्षको पूजा तथा सावित्री–सत्यवानको धार्मिक कथासँग सम्बन्धित छ। धार्मिक विश्वास अनुसार सावित्रीले आफ्ना मृत पति सत्यवानलाई यमराजसँग संझौता गर्दै पुनर्जीवन दिलाएको जनविश्वास छ।
व्रतालु महिलाहरूले बिहानै स्नान गरी सादा वा धार्मिक वस्त्र धारण गरी पूजा सामग्रीसहित बटवृक्षमुनि पूजा गर्दछन्। व्रतको क्रममा महिलाहरू निराहार बस्दै डोरी बेरेर रुखको परिक्रमा गर्छन् र सावित्री–सत्यवानको कथा सुन्छन्। पूजा सामग्रीमा जल, फूल, चनाको दाल, मुंग, आँप, लिची, केला, काँक्रोजस्ता वस्तु प्रयोग गरिन्छ।
नवविवाहिता महिलाहरूले विशेषरूपमा आँपको रुखमा जल अर्पण गर्ने, रुखमा तीन पटक धागो बेर्ने, बाँसको पंखा चलाएर रुखलाई शीतल बनाउने तथा रुखको जरामा अंगालो हाल्ने परम्परा छ। साँझपख पूजा सम्पन्न गरेपछि मात्र व्रतालु महिलाले फलाहार गर्ने गर्दछन्।
नेपालका तराई–मधेस क्षेत्र मात्र होइन, भारतका विभिन्न भागमा समेत यो व्रत विधिपूर्वक मनाउने गरिन्छ। बट सावित्री व्रतलाई स्त्री शक्ति, समर्पण र पतिप्रति अटल श्रद्धाको प्रतीकका रूपमा लिइन्छ।