धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविर जेष्ठ १३ गते साँगुरीगढी–२ बुढिमोरङ र जेष्ठ १४ गते साँगुरीगढी–९ स्थित आहाले स्वास्थ्य चौकीमा सम्पन्न भएको हो।
शिविरको क्रममा बुढिमोरङमा ७२० जना र आहालेमा ६१६ जना बिरामीले सेवा लिएका थिए।
नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल र डिजिटल मार्केटिङ शाखाका सुमन राजवंशीका अनुसार शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क सेवा प्रदान गरिएको थियो।
शिविरमा बालरोग, स्त्री तथा प्रसूति रोग, जेनेरल मेडिसिन, हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, दन्तरोग, नाक-कान-घाँटी, मानसिक रोग, शल्यक्रिया परामर्श, रेडियोलोजी, प्रयोगशाला परीक्षण (रगत र पिसाब), मुटुको इ.सी.जी. परीक्षण र आँखाको जाँचसमेत गरिएको थियो।
स्थानीय बासिन्दाहरूले दुर्गम तथा ग्रामीण क्षेत्रमा यस्तो सेवा उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्था तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन्।
गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने तयारी गरिएको छ।