धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आईतवार धरानका मासु पसलमा अनुगमन गरेको छ। तर, अनुगमनका क्रममा मासु पसलहरूमा अघिल्ला पटकझैं लापरबाही देखिएको पाइएको छ।
अनुगमनका क्रममा धेरैजसो पसलमा फ्रिजको व्यवस्था नभएको, सफाइको अभाव रहेको र मापदण्ड विपरीत तरिकाले मासु बिक्री वितरण भइरहेको भेटिएको अनुगमन शाखाका अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार, मासु पसलसँगै अन्य व्यवसायिक फर्ममा पनि म्याद गुज्रिएका वस्तु बिक्री, सरसफाइमा लापरबाही तथा व्यवसायिक प्रमाणपत्र नवीकरण नगरेको अवस्था फेला परेको छ।
धरान उपमहानगरपालिकाले मासु व्यवसायीहरूलाई मापदण्डबमोजिम पसल सञ्चालन गर्न प्रेरित गर्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताइएको छ।
यस वर्ष सामान्य दिनमै अनुगमन भएको हो, जबकि अघिल्ला वर्षहरूमा मुख्यतः चाडपर्वका बेला मात्र अनुगमन गरिँदै आएको थियो।
२०७३ सालमा धरान मासु व्यवसायी संघले विभिन्न सरोकारवालासँगको छलफलपछि पसलहरू व्यवस्थित बनाउने उद्देश्यले ११ सदस्यीय समिति गठन गरेको थियो।
उक्त समितिले मासु पसल तोकिएको स्थानमा मात्र सञ्चालन गर्ने, प्रत्येक आइतबार पसल बन्द गर्ने, उपभोक्ताको स्वास्थ्यप्रति सचेत रहने, मापदण्डअनुसारको पसल सञ्चालन गर्ने जस्ता निर्णयहरू गरेको थियो।
तर, नौ वर्ष बितिसक्दा पनि त्यस्ता निर्णय कार्यान्वयनमा नआएको, अनुगमनका क्रममा देखिएको अवस्था अघिल्ला वर्षहरूसँग उस्तै रहेको अनुगमन टोलीको निष्कर्ष छ। त्यसबेलाको माइकिङ, प्रचार–प्रसार तथा दर्ता अभियान पनि अलपत्र परेको देखिएको छ।
अनुगमनकर्ताहरूले प्रभावकारी कार्यान्वयनमा चासो नदिँदा र व्यवसायीहरूले मापदण्डको पालना नगर्दा उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै स्थानीय स्तरमै सुधारको माग उठ्न थालेको छ।