इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटनाग्रस्त हुँदा चालकसहित सात जना घाइते भएका छन्।
बिहीबार (२०८३ साउन ७) दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ जाँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो इलाम नगरपालिका–८ बज्रदेवीस्थित उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेपछि दुर्घटना भएको हो।
दुर्घटनामा धरान उपमहानगरपालिका–१० विशालपथका रिता चेम्जोङ (३६), महेश कुमार राई (७३) र मनकुमार राई (३४) घाइते भएका छन्। महेश कुमार राईको टाउको, छाती र ढाडमा चोट लागेको छ भने रिता चेम्जोङको टाउको, निधार, दाहिने हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। मनकुमार राईको दाहिने पिँडुलामा चोट लागेको छ।
यस्तै झापा कन्काई–९ का नाजु आलम (४०) र गोपाल प्रसाद दुलाल (४७), दमक–७ का रोहिन लावती (२२) तथा पाँचथर फाल्गुनन्द गाउँपालिका–५ का चालक रमेश चेम्जोङ (३३) पनि घाइते भएका छन्।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले सबै घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाएको जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।