म नरहेपनि -रहिरहनेछ यो धरती
म मरेपनि -बाँचिरहनेछ यो दुनियाँ
मेरो प्राण रोकिएपनि - चलिरहनेछ यो बतास ।
उसैगरी
प्रत्येक बिहान उदाउने छ घाम
हलो-कोदालो बोकेर मेलापात जानेछन् किसानहरु
पुस्तक बोकेर विद्यालय जानेछन् बालबालिकाहरु
उधोग- कलकारखाना तर्फ लामबद्धहुनेछन् मजदुरहरु ।
उजेली लिएर आउँदैछ जून
डाँडामाथिको घामलाई जुवामा नापेर
घर फर्कदैछन् गोठालाहरु
हतार घर फर्कदैछन् बजार गएकाहरु
मैले जस्तै सुनौलो विहानीको सपना देखिरहेछन् स्वप्नदर्शीहरू ।
म नहुँदा
आकास खस्ने छैन
पाताल भासिने छैन
सगरमाथा झुक्ने छैन
महासागर सुक्नेछैन
म नहुनु, मात्र म नहुनु हो, सपनाहरूको अन्त्य होइन ।
मेरो जीवन रोकिनु, सृष्टि रोकिनु होइन
मेरो मष्तिष्कले काम नगर्नु, ब्रह्माण्डको गति रोकिनु होइन
मेरो धुकधुकी रोकिनु, घडीको सुई टक्क अडिनु होइन
मेरो अवसान, मात्र मेरो अवसान हो, यो जगतको अवसान होइन ।
फरक यति मात्र हो
मेरी छोरीका लागि बुवा नहुनुको पीडा थपिनेछ
मेरी प्रेयसीका लागि खसम नहुनुको चोट थपिनेछ
परिवारका लागि एक सदस्य नहुनुको अभाव थपिनेछ
र, मेरो नामको अगाडी अलौकिक शब्द स्वर्गीय“ थपिनेछ ।
।।।