धरान/ केही समययता धार्मिक आस्थाको नाममा विभिन्न तरिकाले रकम संकलन गर्ने प्रवृत्ति बढ्दो देखिन्छ।
यसै क्रममा, विहीबार बिहान धरान–१२ मा तीन जना जोगी उँटलाई डोर्याउँदै घर–घरमा रकम संकलन गरिरहेका देखिए।
जनकपुरधामबाट ल्याइएको उक्त उँटलाई एक जनाले बजारभर डुलाइरहेका थिए भने बाँकी दुई जनाले घर तथा पसलहरूमा गएर रकम मागिरहेका थिए।
उनीहरूले "भगवानको नाममा" संकलन भइरहेको दाबी गरे। पूर्वका विभिन्न सहर घुमिसकेपछि उनीहरू धरान आइपुगेका थिए भने अब मेची–महाकालीसम्म उँट डुलाउने योजना रहेको बताएका थिए।
तर, आश्चर्यजनक कुरा के थियो भने, लामो यात्राबाट थाकेको उँटलाई उनीहरूले विश्राम दिनुको साटो लट्ठीले हिर्काउँदै जबरजस्ती हिँडाउन खोजे।
एक अवसरमा उँट थाकेर अघि बढ्न नसक्दा लठ्ठीले कुट्दै अघि बढाउन खोज्दा धरानमा सिटी सफारीसँग झन्डै ठोक्किन पुगेको थियो।
धार्मिक आस्थाको नाममा जनावरप्रति देखाइएको यो क्रूरताले उनीहरूको उद्देश्य धर्म भन्दा पनि पैसामा केन्द्रित रहेको देखिन्छ।
जनावरलाई यस्तो हिँसा गरेर रकम संकलन गर्नु धर्मको आडमा गरिएको अमानवीय व्यवहार नभए के हो।