झापा/ झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गर्दै यसबर्ष ४८ विगाह जमिनमा परीक्षणका लागि चैते धान रोप्ने भएको छ।
परम्परागत खेतीभन्दा मेसिनरी प्रविधिले सस्तो लागतमा उत्पादन वृद्धि हुने भएकाले किसानलाई प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले प्रविधियुक्त खेती प्रदर्शन कार्यक्रम अघि बढाइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।
मेसिनरी खेतीको नयाँ युग
स्थानीय पालिकाहरुको सहकार्यमा किसान समूह छनोट गरी हर्दिनाथ–१ जातको चैते धानको ब्याड राख्ने काम तीव्ररूपमा भइरहेको विष्टले बताए।
छनोट गरिएका किसान समूहहरूमध्ये माईपश्चिमतर्फ गौरीगञ्ज गाउँपालिका–९को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को विनायक कृषक समूह, कमल गाउँपालिका–१ को पिपलगाछी कृषक समूह छन्।
माईपूर्वतर्फ बुद्धशान्ति गाउँपालिका–३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका–३ को सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका–३ को आपगाछी कृषि तथा पशुपालन फार्म, हल्दिबारी गाउँपालिका–४को अमराघुट्टु कृषक समूह चयन भएका छन्।
कृषि उपकरण निःशुल्क उपलब्ध
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग सम्झौता गरी किसानलाई निःशुल्क कृषि उपकरण उपलब्ध गराइएको विष्टले बताए।
प्रत्येक कृषक समूहलाई ६ विगाह जमिनमा खेती गर्न आवश्यक बीउ, ब्याड राख्ने ट्रे, रोपाइँका लागि आधुनिक मेसिन उपलब्ध गराइएको छ। मल, खनजोत तथा बालीको हेरचाह भने किसान आफैले गर्नुपर्नेछ। धानको बीउ राखेको २५ दिनमै खेतमा रोप्न सकिनेछ भने रोपाइँपछि १२० दिनभित्र फसल तयार हुने कृषि ज्ञान केन्द्रको अनुमान छ।
१५० वटा ट्रेमा उमारिएको बीउले १ विगाह जमिनलाई पुग्ने भएकाले किसान समूहहरू धमाधम ब्याड तयारीमा जुटिसकेको प्रमुख विष्टले जानकारी दिए।
कृषक उत्साहित
प्रविधियुक्त खेतीबाट उत्पादन लागत घट्ने र उत्पादन वृद्धि हुने विश्वास किसानले लिएका छन्।
झापामा पहिलो पटक यति ठूलो परिमाणमा मेसिनरी प्रविधिबाट चैते धान खेती सुरु हुन लाग्दा स्थानीय कृषकहरू आशावादी देखिएका छन्।
कृषि ज्ञान केन्द्रले प्रविधियुक्त खेतीलाई भविष्यमा झन् विस्तार गर्ने योजना बनाएको छ।