धरान/ हरेक जातजातिको आ आफ्नो संस्कार सँस्कृति हुन्छ । जातजाति अनुसार कर्म चलाउने प्रथा पनि फरक फरक हुन्छ ।
सबै जातिमध्ये नेवारी समुदायले पनि कर्म चलाउन नगरिनहुने यस्ता कर्मलाई सामुहिक रुपमा मनाउन थालेको छ ।
सामुहिक रुपमा यस्ता कर्मकाण्डीको काम गर्दा कम खर्च लाग्ने, रमाइलो हुने र एक अर्कामा भाइचाराको सम्बन्ध स्थापित हुने भएपछि नेवारी समुदायले नेवार समुदायकै संस्कार अनुसार सामुहिक कर्मकाण्डी संस्कार गरेका हुन् ।
नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी ’इहि’ गराउने प्रचलन छ । “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी गर्नु पर्ने संस्कार नै इहि संस्कार हो ।
इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी इहि गर्ने गर्ने बालिकाका बुवाले ईष्ट देवतासंग बिधिवत् रूपमा सम्बन्ध गास्ने काम गरेपछि यो इहि कार्य सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ ।
इहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ । यस्ता संस्कारलाई नेवारी समुदायमाझ पु¥याउन उपत्यका बाहिर पनि सामुहिक रुपमा गर्न थालिएको हो ।
नेवारी जातिको कर्ममाण्डीको रुपमा रहको इही र ब्रतबन्ध ३२ आंं संस्करणको सामुहिक इही तथा ब्रतबन्ध गरिएको नेवारी साँस्कृतिक अभियन्ता मनोहर शाक्य बताउछन् ।
धरानमा हारती र सिद्धिनेवा परिषदमा गरी ६० जना सहभागी रहेका थिए ।
विगतदेखि नै कर्मकाण्डी चलाउन सिद्धि नेवा परिषद्ले सामुहिक रुपमा इही, बेलविवाह र ब्रतबन्ध गराउदै आएकाले यसपटक पनि यसको निरन्तता दिएको सिद्धि नेवा परिषदका अध्यक्ष राजविमल श्रेष्ठले बताए ।
यस्ता कर्मकाण्टी पर्व घरमा घरमा गर्दा खर्च बढी लाग्ने र बढी झन्टिलो हुने भएकोले नेवारी समुदायबीच अपनत्व कायम राख्न पनि सामुहिक रुपमा आयोजना गरिएको अर्का साँस्कतिक अभियन्ता सुरेन्द्रमान स्थापितले जानकारी दिए ।
खासगरि काठमाण्डौ उपत्यकामा मात्र नेवारी समुदायले यस्ता पर्वहरु धुमधामका साथ मनाउने गरेका छन् ।
तर पछिल्लो समय बसाई सराई गरी छरिएर रहेका नेवारी समुदायलाई एकै ठाउँमा ल्याउने र सामुहिक रुपमा कर्मकाण्डीको काम गर्ने कामलाई कोशी प्रदेश त्यसमा पनि धरानमा रहेका नेवारी समुदायहरुले गर्दै आएका छन् ।
यसले नेवारीहरुको सँस्कृतिलाई जीवन्तता दिन सहयोग पुग्ने साँस्कृतिक अभियन्ताहरुको बुझाई छ ।